राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी परित्यागको घोषणा

Spread the love

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्यागको घोषणा गरेका छन्।टिकट वितरण प्रक्रियाप्रति सुरुदेखि असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी छाडेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, “राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ। आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खर्च गर्ने छैन। अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु।”राई २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट रास्वपाका उम्मेदवार बनेका थिए। उनले त्यतिबेला १० हजार ९ सय ४१ मत प्राप्त गरेका थिए। सोही निर्वाचनमा रास्वपाले उक्त क्षेत्रमा समानुपातिकतर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो।यसपटक पनि उनी नै उम्मेदवार हुने व्यापक चर्चा थियो र उनले सोहीअनुसार तयारीसमेत गरिरहेका थिए। तर, टिकट वितरणप्रति असन्तुष्टि बढेपछि उनले पार्टी छाड्ने निर्णय लिएको बताएका छन्।राईले आफ्नो वक्तव्यमा टिकट ‘किनबेच’ हुने प्रवृत्तिप्रति आपत्ति जनाउँदै पार्टीको मूल भावना कमजोर भएको आरोप लगाएका छन्। “नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण बोक्नु हो,” उनले उल्लेख गरेका छन्।उनको यो घोषणाले कास्की जिल्लाको चुनावी समीकरणमा केही प्रभाव पार्ने आकलन गरिएको छ।