समाचार

पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गर्ने पहल मानवतामय समाज निर्माणको ऐतिहासिक सुरुवात

Spread the love

पुर्णचन्द्र चापागाई

भरतपुर । मानवता, सेवा र परोपकारको भावना बालबालिकाको मनमै विकास गर्ने उद्देश्यसहित रक्तदान शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने पहल सुरु भएको छ। नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने ऐतिहासिक प्रयासले शैक्षिक तथा सामाजिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

यस महत्वपूर्ण पहलका लागि शैक्षिक प्रशासन महाशाखा, भरतपुरका प्रमुख सुवास आचार्यसहित सम्पूर्ण टिमले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको छ। त्यसैगरी, यस अभियानलाई सहजीकरण गर्नुहुने डा. भोजराज अधिकारी तथा नेपाल रक्तदाता सङ्गठनको सम्पूर्ण टिमप्रति हार्दिक सम्मान, नमन एवं आभार व्यक्त गरिएको छ।पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गर्ने पहल : मानवतामय समाज निर्माणको ऐतिहासिक सुरुवात

रक्तदान केवल रगत उपलब्ध गराउने कार्य मात्र नभई मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जीवन बचाउने महान् अभियान हो। सानै उमेरदेखि बालबालिकालाई रक्तदानको महत्व, आवश्यकता र मानवीय मूल्यबारे शिक्षा दिन सके भविष्यमा जिम्मेवार, सहयोगी र सेवाभावले प्रेरित नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यस पहलले बालबालिकाको मनमा मानवता, सहयोग, सेवा र परोपकारको भावना रोप्नेछ। साथै, रक्तदानसम्बन्धी भ्रम र गलत धारणालाई हटाउँदै समाजमा स्वैच्छिक रक्तदान संस्कृतिको विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा आगामी शैक्षिक वर्षदेखि सामाजिक विषयको पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरी देशभरका विद्यालयमा लागू गर्न सम्बन्धित सरकारी निकायसँग जोडदार माग गरिएको छ।

रक्तदान शिक्षालाई विद्यालय तहदेखि नै विस्तार गर्न सके भावी पुस्तामा मानवीय संवेदना र सामाजिक सेवाको संस्कार विकास हुनेछ।