समाचार

आगामी स्थानीय निर्वाचनमा रास्वपाको आन्तरिक उम्मेदवार छनोट प्रक्रिया तीव्र

Spread the love

अमर कैनि
काठमाडौं, कात्तिक १४। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाएको छ। निर्वाचन आउनुअघि नै योग्य, सक्षम र जनतामाझ लोकप्रिय उम्मेदवार पहिचान गर्ने उद्देश्यले पार्टीले संगठनात्मक तयारीलाई अगाडि बढाएको हो।
रास्वपाले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ अवधारणा अघि सारेको छ। यसमार्फत इच्छुक व्यक्तिहरूको योग्यता परीक्षण, नेतृत्व क्षमता, राजनीतिक पृष्ठभूमि, सामाजिक सम्बन्ध र समावेशितालाई मूल्याङ्कन गर्ने व्यवस्था गरेको छ।
पार्टीको सार्वजनिक गरिएको उम्मेदवार छनोट मापदण्डअनुसार प्राथमिक निर्वाचनलाई ४० प्रतिशत, नेतृत्व एकेडेमीलाई २५ प्रतिशत, राजनीतिक निकटता तथा पृष्ठभूमिलाई २५ प्रतिशत र समावेशितालाई १० प्रतिशत भार दिइएको छ।
त्यस्तै, उम्मेदवार छनोटमा आर्थिक चलखेल, शक्ति र पहुँचको दुरुपयोग तथा गुटगत दबाब रोक्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
रास्वपाका लागि ७५३ स्थानीय तह र हजारौँ वडामा उम्मेदवार छनोट गर्नु ठूलो संगठनात्मक चुनौती हुनेछ। विशेषगरी महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा आकांक्षीहरूको संख्या बढ्दै जाँदा आन्तरिक प्रतिस्पर्धा व्यवस्थापन गर्नु पार्टी नेतृत्वका लागि महत्त्वपूर्ण विषय बन्ने देखिन्छ।
अब रास्वपामाथि उठेको प्रश्न
पार्टीले सार्वजनिक गरेको पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोटको मापदण्ड व्यवहारमै कति लागू हुन्छ? नेतृत्वको निकटता, आर्थिक प्रभाव र व्यक्तिगत पहुँचभन्दा कार्यक्षमता तथा जनताको विश्वासलाई प्राथमिकता दिइन्छ कि दिइँदैन?
आगामी स्थानीय निर्वाचनमा रास्वपाको राजनीतिक परीक्षण केवल चुनावी परिणाममा मात्र सीमित रहने छैन। पार्टीभित्रको लोकतन्त्र, निष्पक्ष उम्मेदवार छनोट र जनताप्रतिको जवाफदेहिताले पनि यसको राजनीतिक अभ्यासको मूल्याङ्कन गर्नेछ।