चितवनमा लागूऔषध सहित चार जना पक्राउ ट्रामाडोल क्याप्सुल र सयौँ ट्याब्लेट बरामद
भरतपुर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जना समूहका चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले २०८३ कात्तिक १३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार पहिलो घटनामा कात्तिक १२ गते राति करिब १० बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–१५ बाट २६ वर्षीय नवीन गुरुङ र २६ वर्षीय अमृत गुरुङलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १०० ग्राम, ट्रामाडोलका ३१ क्याप्सुल तथा एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दोस्रो घटनामा कात्तिक १२ गते राति करिब ८:१५ बजे अस्थायी प्रहरी पोस्ट कल्याणपुरबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–४ बाट भरतपुर–१५ निवासी १९ वर्षीय कुशल गुरुङ र १९ वर्षीय अभिषेक कुइँकेललाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट ट्रामाडोल ६०३ ट्याब्लेट, एनार्गन ६०३ ट्याब्लेट र नगद ६ हजार ७२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
चितवनमा लागूऔषध नियन्त्रण तथा ओसारपसारविरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ। युवापुस्तालाई लागूऔषधको दुर्व्यसन र अवैध कारोबारबाट जोगाउन प्रहरी, अभिभावक, विद्यालय तथा समुदायबीच सहकार्य आवश्यक देखिन्छ।
