समाचार

मौलाकालिका मन्दिरमा रक्तदान अभियान हुँदै

Spread the love

पुर्णचन्द्र चापागाई
गैंडाकोट । रगतको अभावमा कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गैंडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा कार्तिक १४ गते शनिबार रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
‘मानवताका लागि रक्त अभियान’ भन्ने नारासहित बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा कम्तीमा ५० जना रक्तदाताको सहभागिता रहने अपेक्षा गरिएको शतक रक्तदाता सन्तोष वाग्लेले बताउनुभयो।
नेपाल ब्लड डोनर्स अर्गनाइजेसन नवलपरासी पूर्व, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, मौलाकालिका केबलकार, लायन्स क्लब अफ गैँडाकोट तथा WAY Group को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्राविधिक सहयोग प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, चितवनले गर्नेछ।
रक्तदानलाई नियमित सामाजिक अभियानका रूपमा विकास गर्ने उद्देश्यसहित हालै वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन समाज कल्याण परिषद्मा दर्ता भएको छ। संगठनले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि र देशव्यापी रूपमा रक्तदाता सञ्जाल विस्तार गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
यसै अभियानको पहलमा भरतपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ५, ६, ७ र ८ मा रक्तदानसम्बन्धी शिक्षा समावेश गर्ने निर्णय गरेको जनाइएको छ। विद्यालय तहबाटै रक्तदानको महत्व, मानवीय सेवा र सामाजिक उत्तरदायित्वबारे जानकारी गराउन सके भविष्यमा रक्तदान संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसनका अध्यक्ष अर्जुन अधिकारी र उपाध्यक्ष हरिप्रसाद न्यौपानेले रक्तदान जीवन बचाउने अभियान भएकाले यसलाई देशका सबै जिल्लासम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँहरूका अनुसार रक्तदानसम्बन्धी शिक्षा र जनचेतना विद्यालय तहदेखि नै सुरु गर्न सके रगतको अभाव न्यूनीकरणमा दीर्घकालीन सहयोग पुग्नेछ।
पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थामा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको छ। विशेषगरी दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा नियमित रगत आवश्यक पर्ने बिरामीका लागि रक्तदाताको उपलब्धता जीवनरक्षासँग जोडिएको विषय हो।
धार्मिक आस्थाको केन्द्र मौलाकालिका मन्दिर परिसरमा आयोजना हुन लागेको यस कार्यक्रमले धार्मिक भावना र मानवीय सेवालाई एकै ठाउँमा जोड्ने विश्वास आयोजकले लिएका छन्।
आयोजक संस्थाहरूले रक्तदान गर्न योग्य सम्पूर्ण स्वस्थ नागरिक, सामाजिक अभियन्ता, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेका छन्।