दफा १६४ अनुसार सार्वजनिक स्थानमा अरूलाई बाधा पुग्ने गरी सवारीसाधन राख्न नपाइने व्यवस्था
प्रहरीका अनुसार घटनामा आपराधिक उद्देश्य पुष्टि नभएको र गाडीभित्र विस्फोटक वा अन्य शंकास्पद सामग्री पनि नभेटिएकाले हालका लागि ट्राफिक नियम उल्लंघनअन्तर्गत अनुसन्धान अघि बढाइएको हो। यस प्रकरणमा कुनै फैजदारी मुद्दा, थुनछेक वा धरपकडको प्रक्रिया तत्काल लागू नहुने बताइएको छ।सोमबार काठमाडौंका विभिन्न स्थानमा शंकास्पद रूपमा बेवारिसे छाडिएका गाडीका धनी वा चालक सम्पर्कमा आए वा पक्राउ परेमा उनीहरूलाई ट्राफिक नियमअनुसार ५०० रुपैयाँ जरिवाना गरेर छाड्न सकिने भएको छ।
हाल ती गाडीहरू रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गाडीका धनी पहिचान गर्न यातायात व्यवस्था विभागसँग विवरण मागिएको छ। उनीहरू सम्पर्कमा आएपछि यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार कारबाही गरिनेछ। उक्त दफाअनुसार सार्वजनिक स्थानमा अरूलाई बाधा पुग्ने गरी सवारीसाधन राख्न नपाइने व्यवस्था छ, र पहिलो पटक यस्तो कसुर गरेमा ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको छ।
सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाको निवास, विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरस्टोर अगाडि शंकास्पद रूपमा गाडी राखिएको थियो। घटनापछि सुरक्षा निकायले ती गाडीको विस्तृत जाँच गरेको थियो।यता, नेपाल पत्रकार महासंघले भने सामान्य ट्राफिक जरिवानामै विषय टुंग्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले घटनाको वास्तविक उद्देश्य र योजनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै, केवल ५०० रुपैयाँ जरिवानाले विषय टार्न खोजिए त्यसलाई पत्रकारितामाथिको गम्भीर दबाब र ‘राज्य आतंक’ का रूपमा लिइने चेतावनी दिएका छन्।
