रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीले बिहीबार दिउँसो १ः३० बजेसम्म संकलन गरेको विवरणअनुसार बाढीपछि विभिन्न जिल्लामा २७० जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढीका कारण ८२६ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनमध्ये नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीका साथै नेपाली तथा विदेशी पर्यटक र स्थानीय बासिन्दा रहेका छन्।
बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायत क्षेत्रसँगै त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा ठूलो क्षति पुर्याएको छ। सडक, पुल, घर, बजार तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। करिब १९ वटा पुल र झन्डै ४० किलोमिटर सडकमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। कठिन भौगोलिक अवस्था र मौसमका कारण उद्धारमा चुनौती देखिए पनि बेपत्ता व्यक्तिको खोजी तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भैरहेकाे जनाएकाे छ ।
