आज जनै पूर्णिमा जनै तथा रक्षाबन्धन धारण गरी पर्व मनाइँदै
सबिना प्रजा
हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा आज देशभर धार्मिक श्रद्धा र उल्लासका साथ मनाइँदैछ। यस अवसरमा ब्राह्मण तथा क्षेत्री समुदायका मानिसले स्नान गरी पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा गुरु–पुरोहितबाट रक्षा सूत्र (डोरो) बाँध्ने परम्परा छ।
जनै पूर्णिमाका दिन नदी, कुण्ड तथा धार्मिक स्थलमा स्नान गरी पूजा–आराधना गर्ने र ऋषिहरूप्रति तर्पण गर्ने धार्मिक चलन रहेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि भक्तजनहरू धार्मिक स्थल तथा नदीकिनारमा पुग्ने गरेका छन्।
यस दिन दिदीबहिनी तथा दाजुभाइबीच रक्षाबन्धन/राखी बाँध्ने चलन पनि रहेको छ।

साथै नेवार समुदायमा आजको दिन विशेषगरी क्वाँटी खाने परम्परा भएकाले घरघरमा विभिन्न गेडागुडी मिसाएर क्वाँटी तयार गरिन्छ।
जनै पूर्णिमाले धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ। सरकारले पनि आज जनै पूर्णिमाका अवसरमा सार्वजनिक बिदा दिएको छ।
