भरतपुरका वडा–वडामा मालपोत सेवा किन पुगेन ? महानगरमै राख्ने कि वडामा विस्तार गर्ने, अन्योल कायमै
अमर कैनि
चितवन । सरकारले नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित नापी तथा मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्न निर्देशन दिए पनि भरतपुर महानगरपालिकाका वडा–वडामा उक्त सेवा कहिले पुग्ने भन्ने प्रश्न उठ्न थालेको छ। मालपोत सेवा महानगरपालिकामै सीमित हुने हो कि प्रत्येक वडासम्म विस्तार गरिने हो भन्ने विषयमा नागरिकको चासो बढेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निर्धारित समयभित्र नापी तथा मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी आवश्यक तयारी गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्। मन्त्रालयले गत कात्तिक १६ गते स्थानीय तहलाई पत्राचार गर्दै मंसिर १६ गतेभित्र सेवा सञ्चालनको व्यवस्था मिलाउन समयसीमा तोकेको थियो।
भरतपुर महानगरपालिकाले गत वैशाख १४ गते नै मन्त्रालयमा सेवा सञ्चालनका लागि आशयपत्र पठाएको थियो। महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भवनको स्थलगत निरीक्षण र आवश्यक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। केही दिनमै सेवा सुरु गर्ने तयारी रहेको महानगरले जनाएको छ।
तर मुख्य प्रश्न महानगरपालिकामा सेवा सञ्चालन हुनु मात्रै पर्याप्त हो कि होइन भन्ने हो। भरतपुर महानगरपालिकामा २९ वटा वडा छन्। सबै वडाका नागरिकले मालपोतसम्बन्धी सामान्य कामका लागि महानगरको कार्यालयसम्म धाउनुपर्ने अवस्था कायम रहने हो भने सेवाको विकेन्द्रीकरणको उद्देश्य कति पूरा होला ?
मालपोत कार्यालयले मानेन कि महानगरपालिकाले तयारी पूरा गर्न सकेन ?
यस विषयमा मालपोत कार्यालय र महानगरपालिकाबीच आवश्यक जनशक्ति, प्राविधिक कर्मचारी, उपकरण, अभिलेख व्यवस्थापन तथा अधिकार हस्तान्तरणको प्रक्रिया कति अगाडि बढेको छ भन्ने स्पष्ट जानकारी सार्वजनिक हुन आवश्यक छ।

मन्त्रालयको व्यवस्थाअनुसार स्थानीय तहले आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने भएकाले समस्या कर्मचारी अभाव हो कि प्राविधिक तयारी, त्यो पनि स्पष्ट हुनुपर्छ।
मन्त्रीको निर्देशन पालना नभएको हो वा महानगरपालिकाले आफ्नै व्यवस्थापनअनुसार सेवा सुरु गर्न लागेको हो ? मालपोत कार्यालयले अधिकार हस्तान्तरणमा ढिलाइ गरेको हो कि महानगरपालिकाले सेवा वडा तहसम्म पुर्याउने योजना नबनाएको हो ? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।
नागरिकले सामान्य जग्गासम्बन्धी कामका लागि टाढाको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्नु नै सरकारको उद्देश्य हो। त्यसैले भरतपुर महानगरपालिकाले मालपोत सेवा सुरु गर्ने मिति, सेवा दिने स्थान, उपलब्ध हुने काम र भविष्यमा वडा तहसम्म विस्तार गर्ने योजनाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न आवश्यक छ।
सरकारको निर्देशन कार्यान्वयन हुनु मात्रै होइन, नागरिकले वास्तविक सुविधा पाउनु महत्वपूर्ण हो। अब भरतपुरमा मालपोत सेवा महानगरपालिकामै सीमित रहने हो कि २९ वटै वडाका नागरिकको पहुँचमा पुग्ने हो भन्ने विषयको जवाफ महानगरपालिका र सम्बन्धित मालपोत कार्यालयले दिनुपर्ने देखिन्छ।
