भरतपुर गेष्ट हाउस चौर इतिहास राजनीति अस्तित्वको लडाइँ
जिवलाल पुरी ‘निर्जरा’
भरतपुरको मुटुमा रहेको गेष्ट हाउस चौर कुनै सामान्य खाली जग्गा होइन। यो चितवनको राजनीतिक इतिहास, आन्दोलन, जनभावना, शक्ति प्रदर्शन र सार्वजनिक अस्तित्वको साक्षी बनेको एउटा खुला मञ्च हो। समय–समयमा फरक विचार र फरक शक्तिहरूले यसको उपयोग गरे, तर चौर स्वयं कुनै दल वा व्यक्तिको होइन, जनताको साझा सम्पत्ति बनेर रह्यो।

२०१८ सालको विद्रोह र भरतपुर
२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ जनमत प्राप्त गरे पनि राजा महेन्द्रले २०१७ सालमा संसद् विघटन गरे । त्यसको प्रतिकारस्वरूप २०१८ सालमा नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्यो।
ऐतिहासिक विवरणहरूअनुसार तत्कालीन पूर्वी कमाण्डका क्याप्टेन लालध्वज गुरुङको नेतृत्वमा विद्रोहीहरूले केही समय भरतपुर नियन्त्रणमा लिएका थिए। विजय उत्सवका क्रममा गेष्ट हाउस परिसरमा ठूलो जमघट भएको बेला शाही सेनाले पुनः नियन्त्रण कायम गर्दै कारबाही गरेको र त्यस क्रममा मानवीय क्षति भएको उल्लेख पाइन्छ। इतिहासकार प्रा.डा. सूर्यमणि अधिकारी, प्रा.डा. ईश्वरी लौडारीलगायतका अध्ययन तथा स्थानीय स्मृतिहरूमा २०१८ सालको उक्त घटनामा २६ जनाको मृत्यु भएको भन्ने विवरण उल्लेख गरिएको पाइन्छ।

तर आजको नेपाल लगायत केही स्रोतमा मृतक संख्या बढी रहेको तथा गेस्ट हाउस क्षेत्र र भरतपुर अस्पताल पछाडिको क्षेत्रमा सामूहिक रूपमा गाडिएको हो भन्ने दाबी गरिएको पाइन्छ।
यद्यपि यस विषयमा थप अभिलेखीय अध्ययन आवश्यक देखिन्छ।
यस अर्थमा गेष्ट हाउस क्षेत्र केवल एउटा सार्वजनिक स्थल नभई प्रजातन्त्रका लागि भएका संघर्ष र बलिदानको पनि साक्षी हो।
पञ्चायतदेखि प्रजातन्त्रसम्म
पञ्चायतकालभरि सार्वजनिक राजनीतिक गतिविधि सीमित भए पनि गेष्ट हाउस चौर समय–समयमा सामाजिक भेला, सभासम्मेलन र नागरिक गतिविधिको केन्द्र बनिरह्यो। २०४६ सालको पन्चायत विरुद्धको आन्दोलन, २०६२/६३ को जन आन्दोलन, विभिन्न पेशागत आन्दोलन, नागरिक समाजका कार्यक्रम तथा राजनीतिक दलहरूको शक्ति प्रदर्शनका लागि पनि यो स्थल प्रयोग हुँदै आयो।

सायद त्यसैले चितवनका बुढापाकाहरू भन्छन्—
“चितवनको राजनीति धेरैपटक गेष्ट हाउस चौरमै साँधिन्छ।”
अधुरो शहीद मञ्च र नयाँ विवाद
एक समय यही स्थानमा शहीद मञ्च निर्माण गर्ने योजना अघि बढ्यो। शिलान्याससमेत भयो, तर काम अधुरै रह्यो।
पछि २०७५ सालमा भरतपुर महानगरपालिकाले यही क्षेत्रफलमा करिब पाँच हजार क्षमता भएको अत्याधुनिक “सिटी हल” निर्माण गर्ने योजना सार्वजनिक गर्यो।
तर प्रश्न उठ्यो !
के भरतपुरको केन्द्रमा रहेको बचेखुचेको त्यि एउटा् अन्तिम ठूलो खुला क्षेत्र नै मास्नुपर्थ्यो ?
“गेष्ट हाउस चौर बचाऊ अभियान” एउटा नागरिक आन्दोलन :-
तत्कालीन विवेकशील साझा पार्टीका संयोजक भूपेन्द्रजीले पार्टीका तर्फबाट यस विषयमा प्रेस विज्ञप्ति जारी गरेको कुरा सामाजिक सञ्जालमार्फत थाहा भयो। हामीले तुरुन्तै उहाँलाई फोन गरेयौ, “यसरी आ–आफ्नै ढंगले विरोध गर्नुभन्दा साझा रूपमा अघि बढ्दा प्रभावकारी हुन्छ, हाम्रो पनि यस विषयमा विमति छ, संयुक्त रूपमा अघि बढौँ” भन्ने प्रस्ताव राख्यौं। उहाँले त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै, “यो त अत्यन्त राम्रो कुरा हो, यसको संयोजन हजुरले नै गर्नुस् न” भन्नुभयो।
त्यसपछि सहमत राजनीतिक दलहरूलाई सम्पर्क गरियो। प्रारम्भिक छलफल कहाँ गर्ने भन्ने विषयमा कुराकानी हुँदा भूपेन्द्रजीकै प्रस्तावअनुसार नारायणगढस्थित उहाँकै निवासमा बैठक बस्ने निर्णय गरियो। त्यसपछि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच निरन्तर छलफल हुँदै अभियानलाई संगठित रूपमा अगाडि बढाइयो।
२०७५ असोज ४ गते विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, युवा तथा स्थानीय बासिन्दाहरूको सक्रियतामा “गेष्ट हाउस चौर बचाऊ अभियान” सुरु भयो।
त्यो आन्दोलन कुनै एक दलको आन्दोलन थिएन।
चितवनस्थित क्रियाशील राजनीतिक दलहरूमध्ये तत्कालीन विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा , राष्ट्रिय प्रजातन्त्र पार्टी ( प्रजातान्त्रिक ), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माले) लगायतका राजनीतिक शक्तिहरू एउटै मुद्दामा उभिए। स्वतन्त्र नागरिक र स्थानीय बासिन्दाहरूको उल्लेखनीय साथ रह्यो।
एउटा विडम्बनापूर्ण पक्ष के थियो भने, चितवनका तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) यस अभियानमा सहभागी भएनन्। भरतपुर महानगरपालिकाकी तत्कालीन प्रमुख रेनु दाहालसँग ज्ञापनपत्र बुझाउन पटक–पटक समय माग्दा पनि उहाँले समय नदिनुका साथै ज्ञापनपत्रसमेत बुझ्न अस्वीकार गर्नुभयो। त्यसपछि हामीले तत्कालीन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यस विषयलाई राष्ट्रिय बहसको विषय बनाउने प्रयास गर्यौँ।
हाम्रो अभियानको मुख्य तर्क थियो—
- भरतपुरको घना बस्तीबीच रहेको अन्तिम खुला क्षेत्र नष्ट गर्नु हुँदैन।
- वैकल्पिक स्थान हुँदाहुँदै ऐतिहासिक र सार्वजनिक महत्त्व बोकेको चौर मास्नु दूरदर्शी निर्णय होइन।
- शहरलाई भवन मात्र होइन, खुला सार्वजनिक स्थल पनि आवश्यक हुन्छ।
हरेक साँझ धर्ना, छलफल र विविध कार्यक्रम सञ्चालन भए। विशेषत: त्य्सै बेलाको ०७२ को आलो महाभूकम्पले निम्ताएको बिनास र आकास्मिक दैवीप्रकोपको बेला सुरक्षीत स्थलको रूपमा चौरको आवश्यकताको महशुलले पनि हाम्रो अभियानलाई थप सार्थक बनाउदै ल्ग्यो र अन्ततः व्यापक जनदबाब र निरन्तर खबरदारीपछि सिटी हल अन्यत्र निर्माण गर्ने निर्णय गरियो र गेष्ट हाउस चौर जोगियो।
राजनीति साँध्ने थलो
चितवनका बुढापाकाहरू एउटा रोचक कुरा भन्छन्—
“जसले जनता देखाउनुपर्छ, ऊ गेष्ट हाउस चौर पुग्छ। जसले विरोध गर्नुपर्छ, ऊ पनि त्यही पुग्छ।”
सायद यही कारणले गेष्ट हाउस चौरलाई धेरैले “चितवनको राजनीतिक थर्मोमिटर” पनि भन्ने गर्छन्। राजावादी कार्यक्रम होस्, लोकतन्त्रवादी सभा होस्, वामपन्थी आन्दोलन होस्, नागरिक आन्दोलन होस् वा नयाँ राजनीतिक शक्तिको प्रदर्शन सबैले कुनै न कुनै रूपमा यही क्षेत्रलाई आफ्नो शक्ति प्रदर्शनको माध्यम बनाएका छन्।
इतिहास फेरि दोहोरिँदै ?
संयोग कस्तो छ भने—
२०१५ सालमा दुई तिहाइ बहुमत प्राप्त गरेको नेपाली कांग्रेस दुई वर्षमै सत्ताच्युत भयो। आज दुई तिहाइ नजिकको जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको उद्घाटन पनि यही ऐतिहासिक भूमिमा गरेको छ।
इतिहास आफैं दोहोरिँदैन, तर यसले समय–समयमा एउटा सन्देश भने दिइरहन्छ—
जनमत प्राप्त गर्नु जति महत्त्वपूर्ण हुन्छ, त्यसलाई जोगाउनु, जनअपेक्षाअनुसार अगाडि बढ्नु र समयको परीक्षामा सफल हुनु त्यति नै चुनौतीपूर्ण हुन्छ।
र अन्त्यमा ,
आज गेष्ट हाउस चौर जिउँदै छ भने त्यो कुनै सरकार, कुनै दल वा कुनै नेताको कृपा होइन। यो २०१८ सालका बलिदानीहरूको स्मृति, दशकौँको राजनीतिक यात्राको निरन्तरता र २०७५ सालको “गेष्ट हाउस चौर बचाऊ अभियान” मार्फत अभिव्यक्त नागरिक चेतनाको परिणाम हो।
किनकि भवनहरू उठ्छन् र भत्किन्छन्, सरकारहरू बदलिन्छन्, दलहरू फेरिन्छन्, तर इतिहास बोकेका सार्वजनिक स्थलहरू जोगिए भने मात्र शहरको आत्मा बाँच्छ। भरतपुरको गेष्ट हाउस चौर एउटा खाली मैदान मात्र होइन, यो चितवनको जीवित इतिहास हो।
आज यही ऐतिहासिक भूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशन भव्य रूपमा आयोजना गरेको छ। इतिहासका पाठ, जनअपेक्षा र राष्ट्रिय सहमतिको लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सफल रहोस् र जनताले दिएको विश्वासलाई अझ मजबुत बनाउँदै अघि बढ्न सकोस् भन्ने हार्दिक शुभकामना।
- जिवलाल पुरी ‘निर्जरा’
