समाचार

चितवनमा बाढीको जोखिम बढ्यो २२७ घरधुरी प्रभावित

Spread the love

चितवनमा लगातारको वर्षासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्दा जिल्लाका विभिन्न स्थानमा बाढी तथा डुबानको जोखिम बढेको छ। प्रहरीका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा गरी करिब २२७ घरधुरी प्रभावित भएका छन्।

खैरहनी नगरपालिका–६ मा पम्पा, राप्ती, कैयर र लदरी खोलामा पानीको बहाव बढेको छ। भरतपुर महानगरपालिका–१६ को गुम्बाचौर र झनझने क्षेत्रमा नारायणी नदीको पानी बस्तीमा पस्न थालेको छ। भरतपुर–१७ शारदानगरमा पनि नदीको पानी बस्तीमा पस्न थालेपछि ११ घरधुरीलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको छ।

माडी नगरपालिका–१ मा रिउ खोलाको पानी बढवा, सेरुवा, अमिलिया र चन्द्रपुरी बस्तीमा पस्न थालेपछि १० घरधुरीलाई स्थानीय विद्यालयमा सारिएको छ। माडी–९ प्याउलीमा ४ घरधुरीका १३ जनालाई शान्ति मण्डली चर्चमा र माडी–८ मा ११ घरधुरीका ७० जनालाई मगर होमस्टेमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। माडी–१ र ७ क्षेत्रमा पानीको सतह बढेपछि भरतपुर–माडी–ठोरी सडकसमेत अवरुद्ध भएको छ।

भरतपुर–१ उ.बा.संघ नजिक नारायणीको पानी बस्तीमा पसेपछि ३०/३५ घरधुरीका मानिस आफन्तको घरमा सरेका छन्। भरतपुर–१६ झनझनेमा करिब १३० घर, गुम्बाचौरका २० घर र सिद्धिगणेश सांस्कृतिक टोलका १० घरधुरी डुबानमा परेका छन्। निम्न वर्गका प्रभावितलाई वडा प्रतिनिधि र टोल सुधार संस्थाको समन्वयमा शरणपुरस्थित आधारभूत विद्यालयमा खानपिनसहित व्यवस्थापन गरिएको छ।

देवघाटमा धर्मशाला, कुटी, मन्दिर तथा पसलहरूमा समेत पानी पसेको छ। रत्ननगर–९ लालपर्सामा घरभित्र पानी पसेपछि १० परिवारलाई छिमेकीको घरमा सारिएको छ। भरतपुर–६ बुद्धचोकस्थित नेपाल हार्डवेयर कन्सर्नको गोदाममा पानी पस्दा टायल तथा सेनिटरी सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित तथा जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।