देउवा पक्षद्वारा ७ लाख ८३ हजार क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई
टिकाराम भन्डारि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो छुट्टै तयारी तीव्र बनाएको छ। सोही क्रममा देउवा पक्षले शनिबार ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।
महाराजगन्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई बुझाइएको हो।
सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार कुल सदस्यतामध्ये ५ लाख ७३ हजार २६९ पुराना सदस्यको सदस्यता नवीकरण गरिएको छ भने २ लाख १० हजार ५६७ नयाँ सदस्य थपिएका छन्। सदस्यता व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन नयाँ अनलाइन पोर्टलसमेत सार्वजनिक गरिएको देउवा पक्षले जनाएको छ।
पौडेलले विगतका महाधिवेशनमा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै यसपटक सदस्यताको विवरण व्यवस्थित रूपमा तयार गरी निर्वाचन समितिलाई बुझाइएको बताए।
वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टका अनुसार नयाँ वेबसाइट चार दिनमै तयार गरिएको हो। सदस्यता वितरण तथा नवीकरणलाई सहज बनाउने उद्देश्यले तयार गरिएको पोर्टलमा साइबर सुरक्षालाई प्राथमिकता दिइएको र आगामी दिनमा थप विस्तार गर्ने तयारी रहेको उनले बताए।
देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरी विभिन्न जिल्लामा तयारी अघि बढाएको छ। उक्त समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
यता, सभापति गगन थापा नेतृत्वको कांग्रेसले भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने गरी आफ्नो आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाइरहेको छ। कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार वडा अधिवेशन भदौ २४, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३, जिल्ला अधिवेशन असोज ७ र प्रदेश अधिवेशन असोज १० गतेका लागि तोकिएको थियो।
यसरी एउटै पार्टीभित्र दुई पक्षले फरक–फरक कार्यतालिकासहित महाधिवेशन प्रक्रिया अघि बढाएपछि क्रियाशील सदस्यता, प्रतिनिधित्व र महाधिवेशनको वैधानिकतासम्बन्धी मतभेद थप स्पष्ट देखिएको छ। हाल दुवै पक्ष आ–आफ्नो तयारीमा केन्द्रित छन्।
