मूल्यांकनका क्रममा ती तीन मन्त्रीको कार्यसम्पादन अपेक्षाअनुसार नभएको निष्कर्ष

Spread the love

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा तीन मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाइएको स्रोतले जनाएको छ।स्रोतका अनुसार हाल बालेन नेतृत्वको मन्त्रिपरिषद्मा रहेका १४ मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट छन्। उनीहरूको स्थानमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा तयारी भइरहेको बताइएको छ।निशा मेहता र गीता चौधरी चैत १३ गते मन्त्री नियुक्त भएका थिए भने गौरीकुमारी यादवले चैत २७ गतेदेखि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

प्रधानमन्त्री शाहले सरकारको सय बुँदे कार्यसूचीलाई मुख्य आधार बनाएर मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन मूल्यांकन गरिरहेका छन्। सोही मूल्यांकनका क्रममा ती तीन मन्त्रीको कार्यसम्पादन अपेक्षाअनुसार नभएको निष्कर्ष निकालिएको स्रोतको दाबी छ।आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढाइने तयारी रहेको बताइएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ वटा मन्त्रालयसहित राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्ट, लगानी बोर्ड, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय तथा तथ्यांक विभागलगायत विभिन्न निकायहरूको गतिविधि र उपलब्धिको नियमित अनुगमन तथा मूल्यांकन गरिरहेको छ।