खेतमा उब्जिएको बाली नष्टहुनबाट जोगाउन एम्बुलेन्स सेवा आवश्यक रहेको धारणा-केपी खनाल
केपी खनाल ले किसानका उत्पादन समयमै बजारसम्म पुर्याउन ‘कृषि एम्बुलेन्स’ सेवा सुरु गर्नुपर्ने प्रस्ताव गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत कृषि समितिको बैठकमा बोल्दै उनले कृषकको उत्पादन बचाउन अब नयाँ ढंगले सोच्नुपर्ने बताएका हुन्।
खनालले मानिस बिरामी हुँदा एम्बुलेन्स आउने व्यवस्था भएजस्तै किसानको खेतमा उब्जिएको बाली नष्ट हुन लाग्दा त्यसलाई जोगाउन पनि एम्बुलेन्सजस्तै सेवा आवश्यक रहेको बताए।
उनले भने, “नेपाल पाल्ने गाडी करोडौँको हुने, तर देश पाल्ने किसानलाई ५/७ लाख पर्ने कृषि एम्बुलेन्स दिन नसक्ने हो भने कृषिका ठूला कुरा गरेर के नै अर्थ हुन्छ ?”
उनका अनुसार अहिले नेपालमा उत्पादित फलफूल र तरकारीको ठूलो हिस्सा उचित भण्डारण र ढुवानी अभावका कारण बजार पुग्न नपाउँदै नष्ट हुने गरेको छ। करिब २० देखि ३५ प्रतिशत कृषि उत्पादन ढुवानीकै क्रममा खेर जाने गरेको उनले उल्लेख गरे।
खनालले अब आउने आर्थिक वर्षबाट कम्तीमा एउटा क्षेत्रमा भए पनि कृषि एम्बुलेन्स सेवा सुरु गर्न सरकारलाई आग्रह गरे। समितिले पनि यो विषयलाई गम्भीर रूपमा लिएर आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो।
उनले किसानले आफ्नो उत्पादन सडकमै फाल्नुपर्ने अवस्था रहेको तर उपभोक्ताले त्यही वस्तु पाँच गुणासम्म महँगो मूल्यमा किन्न बाध्य भएको उल्लेख गर्दै बिचौलियाको सेटिङ तोड्नुपर्ने बताए।
“किसानको पसिनालाई नगदमा बदल्न कृषि एम्बुलेन्स आवश्यक छ। अहिलेको कृषिको अवस्था आईसीयूमा रहेको बिरामीजस्तै हो, र कृषि एम्बुलेन्स त्यसको अनिवार्य अक्सिजन हो,” उनले भने।
साथै, उनले माटो परीक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। कृषि उत्पादनको गुणस्तर र उत्पादकत्व बढाउन वैज्ञानिक खेती प्रणालीमा जोड दिनुपर्ने उनको धारणा थियो।
खनालले शीत भण्डारयुक्त सवारी, डिजिटल ट्र्याकिङ, २४ घण्टाभित्र ढुवानी र न्यूनतम ढुवानी लागतको व्यवस्था गर्दै कृषि एम्बुलेन्स अवधारणा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।
