प्रदेश संरचना हटाएर देशलाई केन्द्र र पालिका मा सीमित गर्नुपर्ने धारणा – गाेकुल बास्काेटा
नेकपा एमालेका नेता गाेकुल बास्काेटाले संविधान संशोधनको बहस चलिरहेका बेला संघीय संरचनामाथि नै ठूलो प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रदेश संरचना हटाएर देशलाई केवल केन्द्र र पालिका मा सीमित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) लाई पनि अनावश्यक संरचना भन्दै खारेज गर्नुपर्ने बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै, “पहिला संघीयता खारेज गर्ने भन्ने, अब संविधान संशोधन गर्छ कि गर्दैन?” भन्दै कटाक्षसमेत गरेका छन्।
उनको प्रस्तावअनुसार अबको राष्ट्रिय सभा १०५ सदस्यीय र पूर्ण समावेशी हुनुपर्नेछ। महिला–पुरुष समान ५०–५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्दै उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष बन्नुपर्ने उनको तर्क छ।यति मात्र होइन, उनले प्रतिनिधिसभामा रहेको समानुपातिक निर्वाचन प्रणाली नै हटाउनुपर्ने बताएका छन्। त्यसको सट्टा प्रत्यक्ष निर्वाचनमै महिला–पुरुषको ६०–४० प्रतिशत अनिवार्य प्रतिनिधित्व लागू गर्नुपर्ने उनको प्रस्ताव छ।
बास्कोटाको यो अभिव्यक्तिले संविधान संशोधन र संघीयताको भविष्यबारे नयाँ राजनीतिक बहस चर्काउने संकेत देखिएको छ।
