सुरुङभित्रको लेदो र भग्नावशेष हटाउने कामसँगै हराइरहेका व्यक्तिको खोजीलाई प्राथमिकतामा
नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत विभिन्न क्षेत्रमा सुरक्षाकर्मीले पैदल गस्तीमार्फत बेपत्ता तथा प्रभावितको खोजी गरिरहेका छन्। दुर्गम क्षेत्र र सडक सम्पर्क प्रभावित भएका स्थानमा हवाई तथा पैदल दुवै माध्यमबाट खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको बाढीपहिरोबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको छ। सेनाले आज मात्रै हेलिकोप्टरमार्फत २० जनाको हवाई उद्धार गरेको जनाएको छ। हालसम्म हवाई माध्यमबाट स्वदेशी ३ हजार ८७४ जना र विदेशी २८३ जना गरी ठूलो संख्यामा नागरिकको उद्धार गरिएको सेनाको विवरण छ।
।यसैबीच रसुवागढी जलविद्युत आयोजना क्षेत्रमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोलीले आयोजनाको विभिन्न क्षेत्रमा खोजी कार्य गरिरहेको छ।लाङ्टाङ जलविद्युत आयोजनामा पनि संयुक्त टोलीले सुरुङभित्रको सम्पूर्ण क्षेत्रमा खोज तथा उद्धार गरिरहेको सेनाले जनाएको छ। सुरुङभित्रको भग्नावशेष हटाउँदै खोजी जारी रहे पनि हालसम्म कुनै मानवीय वस्तु फेला नपरेको सेनाको भनाइ छ।चिलिमे जलविद्युत आयोजनामा भने उद्धार टोलीले खोजीका लागि आवश्यक उपकरण सुरुङसम्म पुर्याउने काम तीव्र बनाएको छ। विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले स्याफ्रुबेँसीदेखि सुरुङसम्म भारी उपकरण लैजान करिब १ हजार ५० मिटर बाटो निर्माण सम्पन्न गरेको छ।सुरुङभित्र मानिस हिँड्न मिल्ने बाटो बनाउन ६–६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग भइरहेको छ। सुरुङभित्र एक्स्काभेटर प्रयोग गरी करिब ६५ मिटरको लेदो हटाइसकिएको र थप खोजी कार्य भइरहेको सेनाले जनाएको छ। सुरुङभित्र थुप्रिएको लेदो र भग्नावशेष हटाउँदै टोलीले क्रमशः भित्री भागतर्फ खोजी अघि बढाइरहेको छ।
त्यस्तै माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–३ सुरुङ, त्रिशूली–३ए को पावरहाउस तथा सुरुङ र त्रिशूली–३बी क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले उत्खनन तथा खोजी कार्यलाई निरन्तरता दिएको छ। बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा सम्भावित मानवीय क्षतिको अवस्था पत्ता लगाउन उत्खनन भइरहेको हो।उद्धारसँगै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि निरन्तर सञ्चालनमा रहेको सेनाले जनाएको छ। त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा स्वास्थ्य गस्तीमार्फत आज ५५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म यी स्वास्थ्य सेवाबाट ३ हजार ७२० जना लाभान्वित भइसकेका छन्।बाढी तथा पहिरोका कारण भौगोलिक अवस्था थप चुनौतीपूर्ण बनेको भए पनि नेपाली सेना र विभिन्न विदेशी विशेषज्ञसहितका संयुक्त टोलीले प्रभावित क्षेत्रका सुरुङ, जलविद्युत आयोजना तथा दुर्गम बस्तीमा खोज तथा उद्धारलाई निरन्तरता दिएका छन्। सुरुङभित्रको लेदो र भग्नावशेष हटाउने कामसँगै हराइरहेका व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ।
