आज तीजको दर खाने दिन
सबिना प्रजा
भदौ २८। नेपाली हिन्दु नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा आज देशभर दर खाने दिन मनाइँदैछ। भदौ शुक्ल द्वितीयाका दिन मनाइने दर खाने दिनसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुन्छ।
तीजको व्रत बस्नुअघि शक्ति र आडका लागि आज विभिन्न परिकार बनाएर दर खाने परम्परा छ। विशेषगरी माइती पक्षले छोरी, चेलीबेटी, दिदीबहिनी तथा आफन्तलाई बोलाएर दर खुवाउने चलन रहेको छ। दूधबाट बनेका परिकार, रोटी, घिउलगायतका पौष्टिक तथा आडिला खानेकुरा दरका रूपमा खाने गरिन्छ।
दर खाने दिन महिलाहरू एकै ठाउँमा भेला भएर आपसमा सुख–दुःख साटासाट गर्ने, गीत गाउने, नाचगान गर्ने तथा रमाइलो गर्ने गर्दछन्। तीजले नेपाली समाजमा पारिवारिक भेटघाट, आपसी सद्भाव र महिला एकताको सन्देशसमेत दिने गरेको छ।
तर पछिल्ला वर्षमा तीजका नाममा अत्यधिक तडकभडक, महँगा गरगहना तथा लामो समयअघिदेखि दर खाने प्रवृत्ति बढेको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले परम्पराको मौलिकता जोगाउन आग्रह गरेका छन्।
