नेपालिकांग्रेस देउवा समुह चितवनको अपिल गुटबन्दी होइन एकता सहमतिबाट जिल्ला अधिवेशन सम्पन्न गरौँ
अमर कैनि
चितवन । नेपाली कांग्रेस चितवनको १५औँ जिल्ला अधिवेशन तयारी समितिले पार्टीभित्र देखिएका मतभेद, गुटबन्दी र आन्तरिक विवाद अन्त्य गर्दै एकता, सहमति र संवादका माध्यमबाट जिल्ला अधिवेशन सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेको छ।
समितिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक विरासतलाई जोगाउन सबै नेता तथा कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा पार्टीभित्र व्यक्तिवादी सोच, समूहगत स्वार्थ र पद प्राप्तिको प्रतिस्पर्धाभन्दा माथि उठेर संगठनको हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरिएको छ। पार्टीको आन्तरिक जीवनमा देखिएका असमझदारी र विवादलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्ने समितिको धारणा छ।
समितिले विशेष महाधिवेशनबाट निर्मित नेतृत्वलाई थप सशक्त बनाउँदै पार्टीलाई एकताबद्ध बनाउनेतर्फ ध्यान दिन आग्रह गरेको छ। महाधिवेशन तथा अधिवेशनका प्रक्रियाले पार्टीभित्र थप विभाजन सिर्जना गर्ने जोखिम रहेको भन्दै त्यसलाई रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, जिल्ला अधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई संगठनलाई नयाँ ऊर्जा प्रदान गर्ने, कार्यकर्ताबीच सम्बन्ध सुदृढ बनाउने र आगामी राजनीतिक यात्राका लागि स्पष्ट दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको समितिले जनाएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत वडा, नगर, प्रदेशसभा क्षेत्र तथा क्षेत्रीय अधिवेशनका प्रक्रिया सम्पन्न हुँदै जिल्ला अधिवेशनको तयारी अघि बढेको उल्लेख गरिएको छ। जिल्ला अधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
समितिका संयोजक मिलन बाबू श्रेष्ठले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत स्वार्थभन्दा पार्टीको हित, गुटगत प्रतिस्पर्धाभन्दा आपसी सद्भाव र पदको आकांक्षाभन्दा संगठन निर्माणलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
कांग्रेस चितवनको आगामी अधिवेशनले पार्टीभित्रको एकता, विश्वास र लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउन सक्छ वा पुरानै गुटगत राजनीतिको निरन्तरता दिन्छ भन्ने विषय अहिले चितवनको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।
