सम्पत्ति शुद्धीकरण कसूर अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न अनुमति

Spread the love

पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरण कसूर सम्बन्धी अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार अनुसन्धानका लागि थप म्याद दिएको हो। यसअघि प्राप्त म्याद सकिएपछि प्रहरीको अनुरोधमा अदालतले पुनः म्याद थप गरेको जनाएको छ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। उनी हाल काठमाडौंको सानेपास्थित प्रहरी हिरासतमा छन्। यसअघि अदालतले सात दिन र त्यसपछि तीन दिनको अनुसन्धान म्याद दिएको थियो।यो अनुसन्धान श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको कारोबारसँग सम्बन्धित छ। उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको बताइएको छ।यसअघि व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्ने क्रममा अनुसन्धान निकायले हिमालयन एसेट म्यानेजमेन्टको लगानी, वास्तविक स्वामित्व र कारोबारमाथि पनि प्रश्न उठाएको थियो। सोही विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।

अनुसन्धानका क्रममा व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माले दिएको बयानमा पूर्वअर्थमन्त्री पौडेलको दबाबका कारण श्रीराम टोबाकोको सेयर व्यवसायी दीपक भट्टलाई कम मूल्यमा बिक्री गर्नुपरेको दाबी गरेका थिए। यद्यपि, यो दाबी अनुसन्धानको विषय रहेकाले अदालतबाट पुष्टि भइसकेको छैन।यसैबीच, पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।