आवश्यक सहमति पछि साउन १ गतेदेखि ब्लु बस औपचारिक रूपमा सुरु

Spread the love

सार्वजनिक यात्रालाई प्राथमिकता दिँदै सरकारले साउन १ गतेदेखि काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूची अन्तर्गत सुरु हुन लागेको यो सेवाको पहिलो चरणमा ८ वटा ब्लू बस सञ्चालन गरिनेछ। दीर्घकालीन योजनाअनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक सहमति मागिसकेको छ। सहमति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा औपचारिक रूपमा सुरु गरिनेछ।

पहिलो चरणमा बसहरू लगनखेल–बुढानीलकण्ठ रुटमा २ वटा, थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा २ वटा, तथा चक्रपथ (रिङरोड) क्षेत्रमा ४ वटा सञ्चालन गरिनेछन्। रिङरोडका बसमध्ये २ वटा क्लकवाइज र २ वटा एन्टिक्लकवाइज दिशामा गुड्नेछन्।सरकारले यो सेवा क्रमशः सातै प्रदेशमा विस्तार गर्दै महिलाको सुरक्षित, सहज र निःशुल्क सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।