प्रदर्शनकारीमाथि पूर्वगृहमन्त्री गुरुङले हिरासत कक्षमै पुगेर गालीगलौज धाकधम्की

Spread the love

‘कालापानी, लिम्पियाधुरा नेपालको हो, फिर्ता गर’ भन्दै लैनचौरस्थित भारतीय दूतावासनजिक प्रदर्शन गर्न पुगेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई केही समय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको थियो ।हिरासतमा रहेका प्रदर्शनकारीमाथि पूर्वगृहमन्त्री गुरुङले हिरासत कक्षमै पुगेर गालीगलौज, धाकधम्की र दुर्व्यवहार गरेको आरोप राष्ट्रिय जेनजी नागरिक अभियानले लगाएको थियो ।

अभियानले विज्ञप्ति जारी गर्दै गुरुङले ‘तपाईंहरू कहाँबाट परिचालित हुनुहुन्छ ?’, ‘यो अन्तिम मौका हो’ र ‘अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ’ जस्ता चेतावनीपूर्ण अभिव्यक्ति दिएको दाबी गरेको थियो ।तर उक्त आरोपबारे प्रहरीले स्पष्ट विवरण नभएको जनाएको छ । काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले गुरुङ प्रहरी वृत्त सोह्रखुट्टे पुगेको पुष्टि गरे पनि त्यहाँ के कुराकानी भयो भन्ने यकिन नभएको बताए ।

उनले भने, ‘उहाँ जानुभएको हो, के कुरा भयो भन्ने यकिन भएन ।’राष्ट्रिय जेनजी नागरिक अभियानले भने हिरासतमा रहेका नागरिकमाथि प्रभावशाली राजनीतिक व्यक्तिले यस्तो व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ ।प्रहरीका अनुसार भारतीय दूतावास आसपासको क्षेत्र प्रदर्शनका लागि निषेधित क्षेत्र भएकाले युवाहरूलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई केही समय प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर पछि छाडिएको प्रहरीले जनाएको छ ।