लगानीकर्ता को विश्वासले आगामी आर्थिक दिशा निर्धारण गर्ने

Spread the love

उद्योगी तथा अर्बपति विनोद चौधरीले प्रधानमन्त्रीसँगको संवादपछि आफू उत्साहित भएको बताए। उनले स्थिर सरकार, भनसुन, भ्रष्टाचार र बिचौलियाको अन्त्य तथा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको जानकारी दिए।चौधरीले रोकिएका जलविद्युत् आयोजना, पीपीए, वन तथा खानी क्षेत्र र ठूला पूर्वाधारमा निजी लगानी आकर्षित गर्न पारदर्शी प्रक्रिया आवश्यक रहेको बताए। उद्योगी तथा अर्बपति विनोद चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसँग देशको आर्थिक विकास, निजी क्षेत्रका समस्या र लगानीका सम्भावनाबारे करिब दुई घण्टा खुला छलफल भएको बताएका छन्।निर्णयमा हुने ढिलाइ अन्त्य गर्न प्रधानमन्त्री कार्यालयमै अधिकारसम्पन्न संयन्त्र बनाउनुपर्ने उनको प्रस्ताव छ।

उनले पूर्वाधार, पर्यटन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपाललाई वार्षिक ५० लाख पर्यटक भित्र्याउने र आईटी निर्यात बढाउने लक्ष्य लिन सकिने बताए।ठूला आयोजनामा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकता दिनुपर्ने बताउँदै चौधरीले सरकार र निजी क्षेत्रबीच नियमित संवाद आवश्यक रहेको धारणा राखे। प्रधानमन्त्री शाहले अर्थतन्त्रप्रति गम्भीर चासो देखाएको र छलफल सकारात्मक रहेको उनको भनाइ छ।यद्यपि, सरकारबाट आएका सकारात्मक संकेत कार्यान्वयनमा कति छिटो परिणत हुन्छ भन्ने कुराले नै लगानीकर्ताको विश्वास र आगामी आर्थिक दिशालाई निर्धारण गर्ने चौधरीले बताएका छन्।