उद्धारकर्मीको निरन्तर प्रयासले दुई जनालाई जीवितै बाहिर ल्याउन सफल
टिकाराम भन्डारि
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले बिहीबार साँझ करिब ७ बजेतिर सुरुङभित्र प्रवेश गरेको थियो। करिब १५० मिटर खोतलेपछि मानिस छिर्न मिल्ने सुरुङ भेटिएको र त्यसपछि उद्धारकर्मी क्रमशः भित्र पसेका थिए।त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको बाढीले थुनिएको सुरुङभित्र १० दिनपछि उद्धारकर्मीले जीवित मानिसको आवाज सुन्दा उद्धार अभियानमै नयाँ आशा पलाएको थियो। सुरुङभित्र जीवित व्यक्ति भेटिने सम्भावना न्यून ठानिएको अवस्थामा उद्धार टोलीले एकभन्दा बढी मानिसको आवाज सुनेपछि उनीहरूलाई सकुशल बाहिर निकाल्ने प्रयास तत्काल तीव्र बनाएको थियो।
नम्बर १ विपद् व्यवस्थापन गणका गणपति प्रमुख सेनानी गंगा बरालका अनुसार, उद्धार टोलीले सुरुङको मुख पत्ता लगाउन मात्रै करिब चार दिन लगाएको थियो। मुख खोल्नसम्मको प्रयासमा करिब नौ दिन बितिसकेको थियो। त्यसपछि सुरुङभित्रबाट सङ्लो पानी बाहिर बगेको देखिएपछि मात्र भित्र जीवन हुन सक्ने आशा बलियो बनेको उनले बताए।
करिब १०–११ जनाको उद्धार टोली लाइटको सहारामा अँध्यारो सुरुङभित्र अघि बढेको थियो। कतिपय ठाउँमा बाटो आफैँ खोतलेर खुलाउँदै जानुपर्ने भएकाले ५० मिटरभित्र पुग्नसमेत धेरै समय लागेको बरालले बताए।त्यस क्रममा उद्धारकर्मीहरूले लगातार आवाज दिँदै सोधिरहेका थिए, ‘हेल्लो, कोही हुनुहुन्छ?’एकाएक सुरुङको गहिराइबाट जवाफ आयो, ‘हामी छौँ।’ आवाज एकभन्दा बढी व्यक्तिको थियो। उद्धार टोलीमा रहेका सुरक्षाकर्मीका लागि त्यो क्षण १० दिनदेखि हराइरहेको आशा फेरि जीवित भएको क्षण बन्यो।त्यसपछि बरालसहितको टोलीले भित्र रहेका व्यक्तिलाई ढाडस दिँदै भने, ‘नआत्तिनुहोला, हामी आउँदै छौँ।’ उताबाट फेरि ‘हुन्छ’ भन्ने जवाफ आएको थियो।
उद्धार टोलीले जीवित मानिसको आवाज सुन्नुअघि सुरुङभित्र जीवनको सम्भावना निकै कम रहेको अनुमान गरिएको थियो। तर भित्रबाट आएको सङ्लो पानी र मानवीय आवाजले अवस्था फरक हुनसक्ने संकेत दिएको थियो।उद्धारका क्रममा जीवित उद्धार गरिएका दुई जनासँगै बिस्कुटको खोलसमेत भेटिएको थियो भने सुरुङभित्रको पानी पनि सङ्लो रहेको उद्धारकर्मीले बताएका छन्। यसले फसेका व्यक्तिहरूले उपलब्ध स्रोतको प्रयोग गर्दै लामो समय धैर्यपूर्वक बिताएको हुनसक्ने संकेत गरेको छ।बाढीले सुरुङ थुनेको १० दिनपछि अँध्यारोभित्रबाट आएको ‘हामी छौँ’ भन्ने आवाज अन्ततः उद्धार अभियानको सबैभन्दा भावुक क्षण बनेको थियो। निराशाबीच पनि उद्धारकर्मीको निरन्तर प्रयासले दुई जनालाई जीवित बाहिर ल्याउन सम्भव भएको हो।
