कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज
सुरेश कुमार थपलिया
हिन्दू धर्मावलम्बी नेपालीहरूको महत्वपूर्ण पर्व कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँएकाे छ ।
यस दिन धार्मिक परम्पराअनुसार घरमा कुश भित्र्याउने तथा पिताप्रति सम्मान प्रकट गर्ने गरिन्छ। जीवित बुबा हुनेहरूले बुबालाई मिठा–मिठा परिकार, नयाँ कपडा तथा उपहार दिएर सम्मान गर्ने र आशीर्वाद लिने चलन छ।
बुबा दिवंगत भइसकेकाहरूले भने पितृको सम्झनामा विभिन्न धार्मिक तथा सामाजिक कार्य गर्ने, तर्पण तथा श्राद्ध गर्ने परम्परा रहेको छ। कुशलाई धार्मिक कार्यमा पवित्र सामग्रीका रूपमा प्रयोग गरिने भएकाले कुशे औँसीको विशेष धार्मिक महत्व रहेको मानिन्छ।
यस पर्वले परिवारमा बुबाप्रति सम्मान, कृतज्ञता र स्नेह व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तालाई नेपाली संस्कार र परम्पराबारे जानकारी गराउने कामसमेत गर्छ। देशका विभिन्न स्थानमा आज बुबालाई भेटेर आशीर्वाद लिने तथा दिवंगत पिताको स्मरण गर्नेहरूको चहलपहल देखिएको छ।
कुशे औँसीलाई पितृ सम्मान र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने पर्वका रूपमा समेत लिइन्छ।
