रुस–युक्रेन युद्धको प्रभाव बाल्टिक सागर क्षेत्रमा समेत फैलिन सक्ने जोखिम
बाल्टिक सागरमा ड्रोन आक्रमणबाट क्षति स्पार्टा–२’ नामको उक्त रुसी जहाज शनिबार ड्रोन आक्रमणमा परेको थियो। फिनल्यान्डको सेनाले प्रारम्भिक आकलनअनुसार आक्रमण युक्रेनबाट भएको हुन सक्ने जनाएको छ। आक्रमणपछि जहाज समुद्रमा बग्दै फिनल्यान्डको जलक्षेत्रमा पुगेको थियो, जहाँ अहिले पनि लंगर हालेर राखिएको छ।बाल्टिक सागरमा ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको रुसी कार्गो जहाजमा अझै आगलागी भइरहेको छ। फिनल्यान्डको तटरक्षक बलका अनुसार आगो निभाउन रातभर प्रयास गरिए पनि आइतबारसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी नजिकै रहेको अर्को रुसी जहाजमा सुरक्षित स्थानान्तरण गरिएको छ।फिनल्यान्डको तटरक्षक बलले आइतबार सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा आगलागी नियन्त्रण गर्न विभिन्न जहाजले पानीको फोहोरा प्रयोग गरिरहेको देखिन्छ। जहाजको डेकमा राखिएका कन्टेनरहरू चिसो पार्दै आगो फैलिन नदिनसमेत प्रयास भइरहेको छ।फिनल्यान्डको रक्षा मन्त्रालयका अनुसार उक्त जहाज रुसको गोगल्यान्ड टापुको पश्चिममा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो। रुसी अधिकारीहरूले दिएको विवरणसँग पनि यो जानकारी मेल खाएको छ।
‘स्पार्टा–२’ रुसको सेन्ट पिटर्सबर्गबाट शुक्रबार प्रस्थान गरेको थियो। १२१ मिटर लामो उक्त रुसी झन्डावाहक कार्गो जहाज रुसको बाल्टिक सागरस्थित कलिनिनग्राद क्षेत्रतर्फ जाँदै थियो। यसको स्वामित्व रुसी जहाजरानी कम्पनी ओबोरोनलोजिस्टिकासँग रहेको छ। फिनल्यान्ड आसपास सुरक्षा चिन्ता घटनापछि फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले रुस–युक्रेन युद्धको प्रभाव आफ्नो क्षेत्रनजिकै आइपुगेको टिप्पणी गरेका छन्।उनले सामाजिक सञ्जाल एक्समा युद्ध आफ्नो आसपासको क्षेत्रमा फैलिँदै गएको उल्लेख गर्दै आक्रमणकारीविरुद्ध प्रतिकार गर्ने युक्रेनको अधिकार रहेको बताएका छन्।
त्यस्तै, इस्टोनियाली नौसेनाका कमान्डर इभो भार्कले फिनल्यान्डको खाडी क्षेत्रमा थप आक्रमण हुन सक्ने जोखिमलाई नकार्न नसकिने बताएका छन्।यसअघि पनि युक्रेनले रुसको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा लक्षित गरी ड्रोन आक्रमण गर्दै आएको थियो। केही ड्रोन छिमेकी बाल्टिक राष्ट्रहरूको हवाई क्षेत्रमा समेत प्रवेश गरेपछि नेटो सदस्य राष्ट्रहरूमा सुरक्षा चिन्ता बढेको थियो।यस घटनाले रुस–युक्रेन युद्धको प्रभाव बाल्टिक सागर क्षेत्रमा समेत फैलिन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ।
