सुनचाँदीको मूल्यमा निरन्तर गिरावट अमेरिकी डलर बलियो बन्दा बजार प्रभावित
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आउँदा नेपाली बजारसमेत प्रभावित भएको छ। अमेरिकी डलर बलियो हुनु, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउन सक्ने सम्भावना र विश्व आर्थिक बजारमा देखिएको अनिश्चितताका कारण सुनचाँदीको मूल्य घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्ने अपेक्षा भएपछि लगानीकर्ताको आकर्षण सुनचाँदीबाट अन्य वित्तीय साधनतर्फ सरेको देखिन्छ। त्यस्तै, अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्ताले नगद सुरक्षित राख्न सुनचाँदी बिक्री गर्दा बजारमा थप दबाब परेको विश्लेषण गरिएको छ।
यसैगरी, विगतमा उच्च मूल्यमा सुनचाँदी खरिद गरेका लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाउनु पनि मूल्य घट्नुको अर्को कारण मानिएको छ। विश्व बजारमा माग र लगानीको प्रवृत्तिमा आएको परिवर्तनले समेत मूल्यमा असर पारेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो। त्यस्तै, चाँदी प्रतितोला ४५ रुपैयाँ घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ अन्तराष्ट्रिय बजारको उतारचढाव र अमेरिकी मौद्रिक नीतिले आगामी दिनमा पनि सुनचाँदीको मूल्यलाई प्रभाव पार्ने देखिएको छ।
