राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने र भ्रामक भिडिओ फैलाएको आरोपमा एक नेपाली नागरिकसहित १० जना पक्राउ

Spread the love

संयुक्त अरब इमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने र भ्रामक भिडिओ फैलाएको आरोपमा एक नेपाली नागरिकसहित १० जना पक्राउ परेका छन्। यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल शाम्सीको आदेशमा पक्राउ परेका उनीहरूमाथि ‘तत्काल सुनुवाइ’ प्रक्रिया अघि बढाइएको छ।यूएईबाट सञ्चालित खालिज टाइम्सका अनुसार पक्राउ पर्नेमा नेपाल, इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बङ्गलादेश, क्यामरुनका एक/एक जना र भारतका दुई जना नागरिक रहेका छन्। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।अनुसन्धानका क्रममा आरोपितले यूएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण विफल पारेका वास्तविक फुटेजहरू सार्वजनिक गरेको पाइएको छ। यससँगै एआई प्रयोग गरी तयार पारिएका नक्कली भिडिओमार्फत यूएईका प्रमुख स्थलहरूमा विस्फोट, आक्रमण र आगलागी भएको झुटो प्रचार गरिएको थियो।महान्यायाधिवक्ता अल शाम्सीका अनुसार दोषी ठहरिएमा कम्तीमा एक वर्ष जेल सजाय र एक लाख दिराम (करीब ४० लाख रुपैयाँ) जरिवाना तिराइने कानुनी व्यवस्था छ। यूएई सरकारले साइबर स्पेसमा राष्ट्रिय सुरक्षा धम्की दिने गतिविधिमा संलग्न जोकोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।