पदाधिकारी मनोनयनबारे निर्णायक वार्ता हुने

Spread the love

प्रधानमन्त्रि बालेन्द्र साहा लाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन प्रक्रिया अघि बढाएको छ। पार्टी सभापति रवि लामिछानेले यसबारे आन्तरिक गृहकार्य र छलफल सुरु गरेको नेताहरूले बताएका छन्।

अब एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहप्रवक्तालगायत विभिन्न पदमा मनोनयन गरिने तयारी भइरहेको छ।पार्टीभित्र सबै पदाधिकारीलाई एकैपटक मनोनयन नगरी आवश्यक पदहरू क्रमशः पूर्ति गर्ने तयारी रहेको बताइएको छ। साउनको तेस्रो साताभित्र कम्तीमा उपसभापति, महामन्त्री, प्रवक्ता र कोषाध्यक्ष नियुक्त हुन सक्ने चर्चा छ।

सबैभन्दा धेरै चासो महामन्त्री पदमा देखिएको छ। प्रत्यक्ष निर्वाचनबाट विपिन आचार्य महामन्त्री निर्वाचित भइसकेकाले मनोनयनबाट हुने अर्को महामन्त्री बालेन समूहको भागमा पर्ने लगभग निश्चित मानिएको छ।बालेननिकट नेताहरूका अनुसार भूपदेव शाह महामन्त्रीका प्रमुख दाबेदार हुन्। काठमाडौं महानगरपालिकामा बालेन मेयर हुँदा उनी प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए र पछि रास्वपामा पनि ६२ दिन महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

यद्यपि, केही समय बालेन र भूपदेवबीच सम्बन्ध चिसिएको चर्चा भए पनि त्यो अविश्वास अहिले हटिसकेको बालेननिकट नेताहरूको दाबी छ।एक नेताका अनुसार, भूपदेवमाथि उठाइएका केही विषयमा प्रधानमन्त्री शाहले चासो राखे पनि त्यसको सन्तोषजनक स्पष्टीकरण आइसकेको छ, जसका कारण उनलाई पुनः जिम्मेवारी दिने सम्भावना बलियो बनेको छ।

सुदीप ढकालको नाम पनि चर्चामा

महामन्त्रीको दौडमा प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकालको नाम पनि चर्चामा आएको छ। तर ढकालले आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।उनले नेतृत्वले जुन जिम्मेवारी दिए पनि स्वीकार गर्ने बताउँदै भूपदेव शाहलाई महामन्त्री बनाइए पार्टीका लागि उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।

रास्वपाका केही नेताहरूका अनुसार बालेन समूहले सरकार र पार्टीबीच प्रभावकारी समन्वय गर्न सक्ने सक्षम व्यक्तिको नाम सिफारिस गर्ने अपेक्षा गरिएको छ। यद्यपि, अन्तिम निर्णय प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिस र सभापति रवि लामिछानेको अनुमोदनपछि मात्रै हुने बताइएको छ।पार्टी स्रोतका अनुसार सरकार सञ्चालनका विषयमा निरन्तर छलफल गरिरहेका रवि लामिछाने र बालेन्द्र शाहबीच अब पदाधिकारी मनोनयनबारे पनि निर्णायक वार्ता हुने सम्भावना रहेको छ।