वरिष्ठ कूटनीतिज्ञसुधाकर दलेला नेपालका लागि भारतका २७औँ राजदूत
भारतले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। भारतीय विदेश सेवाका अनुभवी वरिष्ठ कूटनीतिज्ञ दलेला नेपालका लागि भारतका २७औँ राजदूत बनेका हुन्। उनको नियुक्तिका लागि भारतले केही समयअघि नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको थियो। भारतीय विदेश मन्त्रालयका अनुसार दलेला चाँडै राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउनेछन्। भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। उनले सन् २०२५ सेप्टेम्बर १ देखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए। यस भूमिकामा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका थिए।भारतले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। भारतीय विदेश सेवाका अनुभवी वरिष्ठ कूटनीतिज्ञ दलेला नेपालका लागि भारतका २७औँ राजदूत बनेका हुन्। उनको नियुक्तिका लागि भारतले केही समयअघि नेपालको परराष्ट्र मन्त्रालयमा ‘नोट भर्बल’ पठाएको थियो। भारतीय विदेश मन्त्रालयका अनुसार दलेला चाँडै राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आउनेछन्।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।
दलेलाले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। त्यस्तै, सन् २००९ देखि २०११ सम्म उनले नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकको जिम्मेवारी सम्हालेका थिए। नेपाल र भुटानसम्बन्धी मामिलामा समेत अनुभवी दलेलाले भारतीय विदेश मन्त्रालयको उत्तर विभागमा सन् २००६ मा निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सहसचिवका रूपमा काम गरेका थिए। उक्त विभागले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषय हेर्छ।
व्यापार तथा आर्थिक नीतिमा पनि दलेलाको लामो अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए। साथै, विश्व व्यापार संगठन (डब्लूटीओ) मा रहेको भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हालेका उनले सन् २०१४ देखि २०१६ सम्म भारतका उपस्थायी प्रतिनिधिका रूपमा काम गरेका थिए।
त्यसैगरी, दलेला सन् २०२० देखि २०२२ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा उपप्रमुख (डेपुटी चिफ अफ मिसन) का रूपमा कार्यरत थिए। उनी ब्रिक्स, आईबीएसए तथा भारत–इजरायल–यूएई–अमेरिका (आईटूयूटू) लगायतका बहुपक्षीय तथा रणनीतिक समूहमा भारतको प्रतिनिधित्व गर्ने कूटनीतिज्ञसमेत हुन्।
भारतीय विदेश सेवामा प्रवेश गर्नुअघि दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका थिए। उनको कूटनीतिक अनुभव र नेपाल तथा भुटानसम्बन्धी कार्यगत पृष्ठभूमिलाई भारतले नेपालसँगको सम्बन्ध व्यवस्थापनमा उपयोग गर्ने अपेक्षा गरिएको छ।
यसअघि नेपालका लागि भारतका २६औँ राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएका छन्। सन् २०२२ जुनमा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका श्रीवास्तवले सन् २०२६ अक्टोबर १ मा कार्यकाल पूरा गरेका थिए। अब दलेलाले काठमाडौंस्थित भारतीय दूतावासको नेतृत्व सम्हाल्नेछन्।
