अमेरिकी परिवर्तनले युक्रेन र पश्चिमी देशहरू बीचको सहकार्यमा कस्तो प्रभाव पार्ला?
अमेरिकी अर्थ मन्त्रालयले अक्टोबर ९ मा जारी गरेको ‘जनरल लाइसेन्स १३५’ मार्फत रूसी डिजेलको बिक्री, ढुवानी र आयातसम्बन्धी केही कारोबारलाई सन् २०२७ अप्रिल ७ सम्म छुट दिएको विवरणमा उल्लेख छ। ट्रम्पले यसबाट इन्धन आपूर्ति बढ्ने दाबी गरेका छन्। तर आलोचकहरूले यसले रूसलाई युद्धका लागि थप आम्दानी उपलब्ध गराउन सक्ने बताएका छन्।ट्रम्पले डिजेलसँग युक्रेनको ‘डेमोक्रेसी’ साटेको भन्दै अमेरिका र युरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूससम्बन्धी नीतिलाई लिएर अमेरिका र युरोपमा विवाद चर्किएको छ। रूसी डिजेलको कारोबारमा प्रतिबन्ध खुकुलो पार्दै युक्रेनलाई रूसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमण रोक्न दबाब दिएको भन्दै ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।
यस निर्णयको विरोधमा ६ रिपब्लिकन र ६ डेमोक्र्याट गरी १२ अमेरिकी सिनेटरले ट्रम्पलाई पत्र लेख्दै छुट फिर्ता लिन र रूसमाथि थप प्रतिबन्ध लागू गर्न माग गरेका छन्। उनीहरूको तर्कमा रूसी डिजेलबाट अमेरिकी उपभोक्ताले पाउने राहत सीमित हुन सक्छ, जबकि रूसले आर्थिक लाभ लिन सक्छ।
यसैबीच, युक्रेनले प्रयोग गर्दै आएको अमेरिकी सैन्य स्याटेलाइट सेवा स्टारसिल्डमा अवरोध आएको र रूसी क्षेप्यास्त्र आक्रमणबारे प्राप्त हुने पूर्वसूचनामा समेत कमी आएको दाबी सार्वजनिक भएको छ। यसबारे अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकलाई छानबिन गर्न सिनेटरहरूले आग्रह गरेका छन्। यद्यपि, यी घटनाको डिजेल सम्झौतासँग प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन।
युरोपेली नेताहरूले रूसमाथि दबाब कायम राख्न र युक्रेनलाई सहयोग जारी राख्नुपर्नेमा जोड दिएका छन्। अमेरिकी नीतिमा आएको परिवर्तनले युक्रेनको सुरक्षा र पश्चिमी देशहरूबीचको सहकार्यमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
