राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेता छान्ने प्रक्रिया अघि बढाउने

Spread the love

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेता छान्ने प्रक्रिया अघि बढाउने भएको छ। निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा बिहीबार सार्वजनिक गरेको थियो। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको छ।निर्वाचनअघि सभापति रवि लामिछाने र पूर्व काठमाडौं मेयर बालेन्द्र (बालेन) शाहबीच पार्टी र सरकार सञ्चालन सम्बन्धमा सात बुँदे सहमति भएको थियो। सहमति अनुसार, पार्टी सभापति रवि हुने र संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने व्यवस्था छ।तर, पार्टी विधान अनुसार संशोधन नगरी बालेनलाई संसदीय दलको नेता बनाउनु नहुने भन्ने बहस उठेको छ। रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यले भने, “पार्टी महाधिवेशन नभएको अवस्थामा संक्रमणकालीन विधान बमोजिम संसदीय दलको नेता चयन हुनेछ। विधानले बाधा पुर्‍याउने छैन।”विधानको धारा ६६(८) अनुसार निर्वाचन अगावै पार्टीका इच्छुक उम्मेदवारबीच संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने व्यवस्था छ। निर्वाचनमा पार्टीका सबै सदस्यहरू मतदाता हुनेछन्। कुल मतको ५०% प्लस १ मत ल्याउने उम्मेदवार संसदीय दलको नेता घोषित हुनेछ। यदि कसैले यो मत प्राप्त नगरेमा, बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ।अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार, विधान र सहमति दुवैको कार्यान्वयनमा बाधा नपर्नेछ। “एकल उम्मेदवार भएमा स्वतः विजयी हुनेछ। नैतिकता र सहमतिको पालना प्रमुख हुनेछ,” उनले भने।