भिडियो खिचेको आरोपमा पक्राउ परेका बेलायती पर्यटकमाथि साइबर अपराधसम्बन्धी मुद्दा दायर

Spread the love

संयुक्त अरब इमिरेट्सको दुबईमा इरानी मिसाइल आक्रमणको भिडियो खिचेको आरोपमा पक्राउ परेका एक बेलायती पर्यटकमाथि साइबर अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ। दोषी ठहर भए उनलाई अधिकतम दुई वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लन्डन निवासी ६० वर्षीय ती पर्यटकलाई सोमबार राति दुबईमा पक्राउ गरिएको थियो। प्रहरीले सोधपुछ गर्दा उनले उक्त भिडियो तुरुन्तै मेटाएको बताइए पनि उनीमाथि कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ। ती व्यक्तिले भने आफूले कानुन तोड्ने उद्देश्य नभएको दाबी गरेका छन्।अभियान समूह ‘डिटेन्ड इन दुबई’ का अनुसार इरानले संयुक्त अरब इमिरेट्समाथि हालै गरेको मिसाइल आक्रमणसम्बन्धी भिडियो वा सामाजिक सञ्जाल पोस्टका कारण ती पर्यटकसहित अन्य २० जनामाथि पनि मुद्दा दायर गरिएको छ।उनीहरूमाथि ‘सार्वजनिक सुरक्षामा असर पुग्ने गरी अफवाह वा उत्तेजक सामग्री प्रसारण, प्रकाशन वा सामाजिक सञ्जालमार्फत फैलाएको’ आरोप लगाइएको छ। यस्ता गतिविधि यूएईको साइबर अपराध कानुनअनुसार दण्डनीय मानिन्छ।

दुबई सरकारले सामाजिक सञ्जालको प्रयोगलाई कडा रूपमा नियमन गर्दै आएको छ। युद्ध सुरु भएपछि सरकारले ‘जनतामा त्रास फैलाउने सूचना वा सामग्री सामाजिक सञ्जालमा शेयर गरे जेल सजाय हुन सक्छ’ भनेर चेतावनी दिएको थियो।इरानसँगको तनाव बढेपछि सुरुका दिनहरूमा ड्रोन र मिसाइल आक्रमणका भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए। तर पछिल्लो समय त्यस्ता भिडियोहरू प्रायः हटाइएको र सरकारी पक्षको समर्थनमा पोस्टहरू बढेको देखिएको छ।मध्यपूर्वमा बढ्दो तनावका कारण दुबई पनि पटक–पटक ड्रोन तथा मिसाइल आक्रमणको निशानामा परेको छ। हालैको आक्रमणमा दुबईको क्रिक हार्बर क्षेत्रस्थित एक होटलमा आगलागी भएको बताइएको छ। त्यसपछि शेख जायद रोड र अल बडा क्षेत्रमा समेत आक्रमणका घटनाहरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।दुबईमा करिब २ लाख ४० हजार बेलायती नागरिक बसोबास गर्दै आएका छन्। पछिल्लो समय बढ्दो सुरक्षा जोखिमका कारण त्यहाँको सुरक्षास्थितिबारे चिन्ता बढ्दै गएको बताइएको छ।