द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान

Spread the love

सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।

सभामुख अर्यालले चीन सरकारको सहयोग अपेक्षित रहेको उल्लेख गर्दै सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारी कार्यान्वयनमार्फत विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने बताएका छन्। उनले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) को कार्यान्वयनलाई गति दिनुपर्ने आवश्यकता औँल्याए। साथै, बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।भेटमा राजदूत माओमिङले नेपाल–चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको बताउँदै सन् २०१९ मा सी जिनपिङ को नेपाल भ्रमणपछि सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरे। उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे।

राजदूत माओमिङले प्रतिनिधिसभा र राष्ट्रिय जनकंग्रेसबीच सहकार्य विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान तथा अनुभव साझेदारी आवश्यक रहेको बताए। साथै, उनले संघीय संसद सचिवालयलाई विद्युतीय सवारी साधन सहयोग गरिएको जानकारी दिँदै सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्तो समेत दिएका छन्।यो भेटले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।