हरिबोधनी एकादशीमा चक्रतीर्थधाममा दुई लाखभन्दा बढी सहयोग घोषणा ५३ जनाद्वारा रक्तदान
पुर्णचन्द्र चापागाई
चितवन, मंसिर ४। हरिबोधनी एकादशीको पावन अवसरमा चक्रतीर्थधाममा आयोजित विशेष कार्यक्रममा समाजसेवी भुनादेवी चापागाईं तथा उहाँको परिवारले स्वर्गीय पति तथा पिता केशवप्रसाद चापागाईंको पुण्यस्मृतिमा संस्थालाई दुई लाख २५ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।

भागिरथ बस्यालको सभापतित्व तथा चितवन क्षेत्र नं. ३ (ख) का माननीय ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम सुवासकुमार तिवारीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा भुनादेवी चापागाईं र उहाँको परिवारले घोषणा गर्नुभएको सहयोगप्रति सम्मान व्यक्त गर्दै संस्थाको तर्फबाट प्रमुख अतिथि ठाकुरप्रसाद ढकाल, माडी नगरपालिका–४ का वडाध्यक्ष माधवप्रसाद चापागाईं, संस्थाका अध्यक्ष भागिरथ बस्याललगायत अतिथिहरूले कदरपत्र प्रदान गर्नुभएको थियो।

प्रमुख अतिथि ढकालले स्वर्गीय केशवप्रसाद चापागाईंकै नेतृत्वमा हरिहर मन्दिर स्थापना भएको स्मरण गर्दै उहाँले देखाउनुभएको सामाजिक उत्तरदायित्वलाई परिवारले निरन्तरता दिनु प्रशंसनीय कार्य भएको बताउनुभयो। उहाँले सामाजिक सेवामा परिवारले अघि बढाएको योगदानको चर्चा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो।

संस्थाका सचिव तथा अधिवक्ता पूर्णचन्द्र चापागाईंले आगामी दिनमा १०८ चक्रलाई व्यवस्थित रूपमा निर्माण तथा व्यवस्थापन गर्न समितिका उपाध्यक्ष सुवासकुमार तिवारीको संयोजकत्वमा छलफल गरी आवश्यक प्रक्रिया पूरा गरेर कार्यान्वयन गर्ने जिम्मेवारी प्रदान गरिएको जानकारी दिनुभयो।

यसैगरी, संस्थाका कोषाध्यक्ष खेमप्रसाद पाठकले मंसिर ३ गतेसम्म संस्थाको कोषमा जम्मा भएको आर्थिक विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म कुल ११ लाख १७ हजार १०९ रुपैयाँ ७७ पैसा संकलन भएको छ। त्यसमध्ये ६ लाख ६५ हजार ६०९ रुपैयाँ ८५ पैसा खर्च भएको र मंसिर ३ गतेसम्म खातामा ४ लाख ५१ हजार ४९९ रुपैयाँ ९२ पैसा बचत रहेको जानकारी दिनुभयो। उक्त बचत रकमबाट थप ४ हजार ५०० रुपैयाँ फ्लेक्स ब्यानर तथा स्टेशनरी सामग्रीमा खर्च भएको समेत उहाँले जानकारी गराउनुभयो।
कार्यक्रममा भुनादेवी चापागाईंका छोराहरू कुश्माखर, मुक्ति प्रसाद, पूर्णचन्द्र र दधिराम चापागाईं, बुहारीहरू पवित्रा र शान्ति चापागाईं, नातिनीबुहारी ज्ञानु चापागाईंसहित संस्थाका उपाध्यक्ष हरिप्रसाद न्यौपाने, सल्लाहकारहरू कोमलप्रसाद भुसाल, लक्ष्मीप्रसाद पराजुली, तुलाराम दवाडीलगायत सदस्य रामचन्द्र लम्साल तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा चक्रतीर्थधाम तथा छरछरे मेला र नेपाल रक्तदाता संगठनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमसमेत सम्पन्न भएको थियो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए।
रक्तदान गर्नेमा २८ महिला र २५ पुरुष रहेका थिए। तीमध्ये २८ जना नयाँ रक्तदाता रहेको आयोजकले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको हरिबोधनी एकादशीको अवसरमा आयोजित कार्यक्रमले सामाजिक सेवासँगै मानवीय सेवाको भावनालाई समेत उजागर गरेको छ।
