समानुपातिकतर्फ सिट प्राप्त गरेका राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी नामावली पेस गर्न पत्राचार
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सिट प्राप्त गरेका राजनीतिक दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी नामावली पेस गर्न पत्राचार गरेको छ।बिहीबार आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या निर्धारण गरेसँगै सम्बन्धित दलहरूलाई आफ्नो कोटाअनुसार उम्मेदवार चयन गरी आयोगमा पठाउन निर्देशन दिएको हो।आयोगका अनुसार यसपटक समानुपातिकतर्फ जम्मा छ वटा राजनीतिक दलले मात्रै सिट प्राप्त गरेका छन्। सबैभन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ। रास्वपाले ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २० सिट पाएको छ।त्यस्तै नेकपा एमालेले १६ सिट प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले ९ सिट हात पारेको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ समान रूपमा ४–४ सिट प्राप्त गरेका छन्।निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ प्राप्त मतको आधारमा दलहरूले पाउने सिट संख्या निर्धारण गरिएको हो। अब दलहरूले आफ्नो प्राप्त सिटअनुसार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नामावली बुझाउनुपर्नेछ।दलहरूले बुझाएको नामावली अध्ययन गरेर आयोगले अन्तिम रूपमा समानुपातिक सांसदहरूको नाम सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
