प्रणय राणाले राजीनामा दिएपछि काठमाडौं–५ को रास्वपामा पहिरो
प्रतिनिधिसभा सदस्य उमेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिएपछि काठमाडौं–५ को रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले राजीनामापत्रमा प्रतिनिधिसभा उमेदवार छनोटको आवरणमा आर्थिक अनियमितता भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामापत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ । राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगरप्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापामगर छन् । यसैगरी, वडा पदाधिकारीहरू बुनपा–७ की प्रतिभ सेढाईं, बुनपा–७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् । उनीहरू रास्वपाका पूर्वउमेदवार राणानिकट मानिन्छन् । राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए । यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ ।
