मतपेटिका ओसारपसारमा नेपाली सेनालाई प्रयोग गरिने भन्ने चर्चा असत्य -गृहमन्त्री

Spread the love

काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्याल ले आगामी निर्वाचनका क्रममा मतपेटिका ओसारपसारमा नेपाली सेनालाई प्रयोग गरिने भन्ने चर्चा असत्य रहेको बताएका छन्।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै उनले सेनाले मतपेटिका ढुवानी गर्ने भन्ने विषयमा फैलिएको प्रचार निराधार भएको स्पष्ट पारे। उनका अनुसार एकीकृत निर्वाचन सुरक्षा रणनीतिअनुसार नेपाली सेनाको भूमिका अघिल्ला निर्वाचनहरूमा जस्तै तेस्रो सुरक्षा घेरासम्म सीमित रहनेछ।

‘बजारमा फैलाइएका हल्लाहरूको पछि लाग्नु आवश्यक छैन,’ उनले भने, ‘सुरक्षा रणनीतिले निर्दिष्ट गरेअनुसार नै सेना परिचालन हुन्छ, मतपेटिका बोक्ने जिम्मेवारी सेनाको होइन।’

निर्वाचनको समग्र तयारीबारे बोल्दै मन्त्री अर्यालले सरकार स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा मतदान सम्पन्न गराउन प्रतिबद्ध रहेको बताए। अब चुनाव हुन्छ वा हुँदैन भन्ने अन्योलको अवस्था नरहेको उल्लेख गर्दै उनले निर्वाचन सुनिश्चित भइसकेको दाबी गरे।

कोशी प्रदेशको सुरक्षा अवस्थाको अवलोकनका लागि विराटनगर पुगेका गृहमन्त्रीले प्रदेशका सुरक्षा प्रमुखहरूसँग बैठक गरी समग्र चुनौती र तयारीबारे जानकारी लिएका थिए।