नयाँ वर्षमा कांग्रेस नेतृत्वमा सरकार बन्छ – गगन

Spread the love

गगन थापा शुक्रबार बुटवलमा आयोजित चुनावी सभामा करिब आधा घण्टा उपस्थित भए पनि कार्यक्रमले कांग्रेस वृत्तमा उल्लेख्य ऊर्जा थपेको छ। वाणिज्य क्याम्पसको चौरमा आयोजित सभामा बाक्लो जनसहभागिता देखिएको थियो।

निर्धारित समयभन्दा केही ढिलो पुगेका थापा हेलिकप्टरबाट दीपनगरस्थित सिद्देश्वरी मैदानमा अवतरण गरी गाडीमार्फत कार्यक्रमस्थल पुगेका थिए। मञ्चमा उक्लिएलगत्तै उनले समय ढिला भएकोमा माफी माग्दै छोटो तर विषयकेन्द्रित सम्बोधन गरे। उनले करिब १९ मिनेट बोलेका थिए।

सभामा कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहोदर तथा जिल्ला सभापति रामकृष्ण खाणले दुबोको माला र खादा लगाएर थापाको स्वागत गरेका थिए। कार्यक्रममा खाण पक्ष र थापा पक्षका नेताहरू एकै मञ्चमा देखिएपछि पार्टीभित्र एकताको सन्देश गएको विश्लेषण गरिएको छ।

सम्बोधनका क्रममा थापाले सुशासनलाई मुख्य एजेण्डा बनाउँदै विगतका कमजोरी स्वीकारेर नयाँ संकल्पका साथ अघि बढ्ने बताए। “हामीले हिजोका गल्ती स्वीकारेका छौं, अब नयाँ योजनाका साथ काम गर्नेछौं,” उनले भने।

उनले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गरे। “गाडी गतिमा दौडिन्छ, तर एक्सिडेन्टमा पर्दैन भन्ने ग्यारेन्टीका साथ आएका छौं,” उनले भने, “फागुनमा चुनाव सकिएर गणनापछि नयाँ वर्षमा कांग्रेस नेतृत्वमा सरकार बन्छ, तर हामी एक्लै होइन सबै दललाई समेटेर अघि बढ्छौं।”

कार्यक्रममा ठूलो संख्यामा विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेशको घोषणा पनि गरिएको थियो। क्षेत्रीय सभापति प्रजापाल गिरीका अनुसार १ हजार ३१ जना पार्टीमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा पूर्वप्रहरी संघका वरिष्ठ उपाध्यक्ष तथा नेकपा प्रदेश सल्लाहकार हरिहर भट्टराई, पूर्व डिएसपी सुवास गैरे, राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णुबहादुर कार्की, रास्वपाका गोपाल थापा, एमालेकी कल्पना नेपाल र माओवादी केन्द्रबाट निर्वाचित बुटवल उपमहानगरपालिका वडा नं. ४ की सदस्य पुनम थापा क्षेत्री लगायत रहेका छन्। उनीहरूलाई उपसभापति पुष्पा भुसाल, नेता बालकृष्ण खाण र अन्य नेताहरूले टीका–खादा लगाएर स्वागत गरेका थिए।

राजनीतिक विश्लेषकहरूले बुटवलको कार्यक्रमलाई कांग्रेसभित्रको असन्तुष्टि कम गर्ने र संगठनात्मक एकता देखाउने प्रयासका रूपमा हेरेका छन्। लामो समयपछि कांग्रेस कार्यक्रममा देखिएको भीडले कार्यकर्तामा उत्साह थपेको बताइएको छ।

थापा बुटवलमा करिब आधा घण्टा बसेर अन्य जिल्लातर्फ प्रस्थान गरेका थिए। छोटो समय भए पनि कार्यक्रमले रुपन्देही क्षेत्रमा चुनावी माहोल थप तातिएको संकेत दिएको छ।