हसिनाविरोधी युवा नेतामाथि एकपछि अर्को गोलीकाण्ड, बंगलादेशमा नयाँ भय र राजनीतिक अस्थिरता गहिरिँदै
बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनविरुद्ध उभिएका युवा तथा आन्दोलनकारी नेताहरू एकपछि अर्को गरी गोली हानी मारिन थालेपछि मुलुकमा गम्भीर चिन्ता थपिएको छ । पछिल्ला दिनहरूमा सार्वजनिक स्थानमै भएका यस्ता हत्याकाण्डले बंगलादेशको राजनीतिक अवस्था झन् अस्थिर बन्दै गएको संकेत दिएको छ ।बंगलादेशको अखबार ढाका ट्रिब्यूनका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदर सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा अज्ञात आक्रमणकारीको गोली प्रहारबाट गम्भीर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी खुलना मेडिकल कलेज अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।यस घटनाले केही दिनअघि मात्रै भएको अर्को सनसनीखेज हत्यालाई पुनः स्मरण गराएको छ । गत डिसेम्बर १२ मा इन्कलाब मञ्चसँग सम्बन्धित चर्चित विद्यार्थी नेता उस्मान हादीलाई ढाकामा सार्वजनिक स्थानमै गोली हानिएको थियो । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो । तर, डिसेम्बर १८ मा उपचारकै क्रममा उनको मृत्यु भयो । हादीको हत्यापछि ढाका र अन्य सहरमा विरोध प्रदर्शन र हिंसा फैलिएको थियो ।
लगातार दुई जना प्रभावशाली युवा नेताको हत्या भएपछि बंगलादेशमा “हसिनाविरोधी धारमा उभिएका नेताहरू योजनाबद्ध रूपमा निशानामा परिरहेका हुन् कि ?” भन्ने प्रश्न उठ्न थालेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यी घटनाले केवल व्यक्तिगत शत्रुताभन्दा गहिरो राजनीतिक सन्देश दिन खोजेको आभास हुन्छ । विशेष गरी विद्यार्थी र श्रमिक आन्दोलनमार्फत सरकारविरुद्ध आवाज उठाएका पात्रहरू क्रमशः निशानामा पर्नु चिन्ताको विषय बनेको छ ।घटनापछि खुलनामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । सोनाडाङ्गा मोडेल प्रहरी चौकीका अनुसन्धान इन्चार्ज अनिमेष मण्डलले अज्ञात समूहद्वारा गोली प्रहार भएको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको बताएका छन् । यद्यपि, आक्रमणकारीको पहिचान र उद्देश्यबारे अहिलेसम्म कुनै ठोस जानकारी सार्वजनिक भएको छैन ।एकपछि अर्को गोलीकाण्डले बंगलादेशी समाजमा भयको वातावरण सिर्जना गरेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म “आज उस्मान हादी, भोलि मोतेलेब सिकदर—अब को ?” भन्ने प्रश्न गुञ्जिन थालेको छ । हसिनाविरोधी आन्दोलनसँग जोडिएका युवा नेताहरू धमाधम मारिन थालेपछि बंगलादेश नयाँ राजनीतिक संकटतर्फ धकेलिँदै गएको विश्लेषकहरूको ठम्याइ छ ।
