उम्मेदवार बन्न कडा मापदण्ड लागु अन्य दल परित्याग गरेका व्यक्तिले कम्तीमा ९० दिन पूरा गरेपछि मात्रै ‘उम्मेदवार क्लब’मा दर्ता हुन पाउने

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट प्रवेश गर्ने व्यक्तिका लागि उम्मेदवार बन्न कडा मापदण्ड लागू गरेको छ। पार्टीले नयाँ व्यवस्था अनुसार अन्य दल परित्याग गरेका व्यक्तिले कम्तीमा ९० दिन पूरा गरेपछि मात्रै ‘उम्मेदवार क्लब’मा दर्ता हुन पाउने निर्णय गरेको हो।

केन्द्रीय सचिवालयबाट पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा’ अनुसार दल परिवर्तन गरेर आउनेहरूका लागि तीन महिनाको ‘कुलिङ पिरियड’ अनिवार्य गरिएको छ। पहिलोपटक पार्टी सदस्यता लिने व्यक्तिका लागि भने ४५ दिनको अवधि तोकिएको छ। उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा उम्मेदवार क्लबमा दर्ता भएर छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।

पार्टीले विशेष अवस्थाका लागि ‘ल्याटरल इन्ट्री’को व्यवस्था पनि गरेको छ। समाजका प्रतिष्ठित, विज्ञ वा सार्वजनिक रूपमा स्वच्छ छवि भएका व्यक्तिहरूलाई आवश्यक ठानिएमा कुलिङ पिरियड नपुगे पनि उम्मेदवार क्लबमा आवेदन दिन सक्नेछन्। तर उनीहरूले अन्य सबै मापदण्ड भने पूरा गर्नुपर्नेछ।

रास्वपाले उम्मेदवार छनोटका लागि बहु-चरणीय प्रक्रिया तय गरेको छ। उम्मेदवार क्लबमा दर्तापछि लिडरसीप एकेडेमीमार्फत प्रशिक्षण लिनुपर्नेछ र त्यसपछि मूल्यांकन तथा प्रारम्भिक मतदान प्रक्रियाबाट छनोट गरिनेछ। पार्टीले यसका लागि चार मुख्य मापदण्ड तय गरेको छ—लिडरसीप एकेडेमी (२५ प्रतिशत), पोलिटिकल प्रोक्सिमिटी (२५ प्रतिशत), समावेशिता (१० प्रतिशत) र प्रारम्भिक मतदान (४० प्रतिशत)।

लिडरसीप एकेडेमीमार्फत उम्मेदवारको वैचारिक स्पष्टता, जनसेवा भावना र व्यवहारिक क्षमता मूल्यांकन गरिनेछ। पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत उम्मेदवारको पृष्ठभूमि, लोकप्रियता, संगठनमा सक्रियता र अनुशासन जाँच गरिनेछ। समावेशितामा जातीय, लैंगिक, भौगोलिक र अन्य आधारलाई समेटिनेछ भने प्रारम्भिक मतदानमार्फत स्थानीय पार्टी संरचनाका सदस्यहरूले उम्मेदवार छनोटमा सहभागिता जनाउनेछन्।

त्यस्तै, वडा, पालिका तथा महानगर स्तरका उम्मेदवारहरूले सम्बन्धित समिति वा केन्द्रीय समितिबाट अनिवार्य लिखित सहमति लिनुपर्ने व्यवस्था पनि गरिएको छ। पार्टीले यो नयाँ प्रणालीमार्फत उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखेको जनाएको छ।