सात जना केपीशर्मा ओली पक्षमा खुले

Spread the love

नेकपा एमालेका १८ पदाधिकारी मध्ये सात जना केपीशर्मा ओली पक्षमा खुलेका छन् । ११ औँ महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल संस्थापन पक्षमा उभिएका हुन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उभिएको जानकारी दिएका छन् । ‘हो, अध्यक्षज्यू (केपी ओली) सँगै हो,’ गुरुङले भने । त्यस्तै सचिव भट्टले कुरा गर्दै आफूले यसअघि सचिवालय बैठकमै पार्टी नेतृत्वको बारे अहिले विकल्प खोज्नु हुँदैन भनेको कुरामा अहिले पनि उही अडान रहेको बताए । उनले आफू पदका लागि मरिहत्ते नगर्ने कुरा नेतृत्वलाई भनिसकेको हुँदा जुन ठाउँ र जिम्मेवारी दिइन्छ सोही ठाउँमा सक्रिय भएर काम गर्ने बताए । उनले नेतृत्वका लागि ओलीकै अग्रसरता हुनेमा सहमति भएको पुष्टि गरे । २७, २८ र २९ मंसिरमा भक्तपुरको सल्लाघारी र काठमाडौंको भृकुटीमण्डपमा हुने एमालेको ११ औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमाले अध्यक्षमा ओली तेस्रोपटक नेतृत्वका लागि दौडमा छन् । पछिल्लो समय उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले स्पष्ट रूपमा नबोल्दा पोखरेल पक्षले दुवै नेताहरू आउने आँकलन गरेको थियो । पौडेल र गुरुङ  पोखरेल पक्षमा उभिए ओली कमजोर हुने धेरैको बुझाइ थियो । तर पछिल्लाे समय पाैडेल र गुरूङ दुवै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग संवादमा थिए । भण्डारी र पाेखरेल समूहसँग कुरा नमिलेपछि शुक्रवारदेखि दुवै नेता ओलीतर्फ खुलेका हुन् ।