घटस्थापनाको चौथो दिन दसैँको रौनक बढ्दै घरघरमा दुर्गा भवानीको पूजा
सुरेस कुमार थपलिया
काठमाडौं। नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत घटस्थापनाको चौथो दिन आज देशभरका शक्तिपीठ तथा घरघरमा दुर्गा भवानीको पूजा–आराधना गरिँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको नवरात्रको चौथो दिन धार्मिक विधिअनुसार देवीको पूजा गर्ने परम्परा छ।
नवरात्रका नौ दिनमा नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने चलन छ। चौथो दिन देवी कुष्माण्डाको आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार देवी कुष्माण्डालाई सृष्टिको सर्जक शक्तिका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ।
दसैँको आगमनसँगै मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढ्न थालेको छ। घरघरमा पूजापाठ, भजनकीर्तन र धार्मिक अनुष्ठान भइरहेका छन्। घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरालाई नियमित रूपमा जल चढाएर स्याहार गर्ने क्रम पनि जारी छ।
बडादसैँलाई धार्मिक आस्था, पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकताको पर्वका रूपमा लिइन्छ। नवरात्रका दिनहरू बित्दै जाँदा दसैँको उल्लास पनि बढ्दै गएको छ।
विजयादशमीका दिन दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दसैँ मनाउने परम्परा छ।
