स्थानीयस्तरमै फूल उत्पादन महिलालाई आफ्नै श्रमबाट आम्दानी गर्ने अवसर
सबिना प्रजा
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार पहिलो टिपाइमै दमौलीकी उद्यमी कल्पना गौलीबाट ५० किलो फूलको माग आएको छ। स्थानीय उत्पादनको बजार मूल्य प्रतिकिलो ४०० रुपैयाँसम्म रहेको उनले बताइन्।दसैँको चहलपहलसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकमा सयपत्री फूलखेती फस्टाएको छ। तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। सामूहिक खेतीमा आबद्ध ४५ महिला फूल उत्पादन र बिक्रीमार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन्।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार फूलखेतीले स्थानीय महिलालाई आयआर्जनको अवसर दिएको छ। उत्पादित फूलको बजारमा समस्या नरहेको र खेतीलाई थप विस्तार गर्न सकिने उनको भनाइ छ।
स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घट्नुका साथै महिलालाई आफ्नै श्रमबाट आम्दानी गर्ने अवसर मिलेको छ।
