बडादसैँको दोस्रो दिन आज घरघरमा दुर्गा भवानीको पूजा–आराधना
सुरेस कुमार थपलिया
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत घटस्थापनाको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा घरघरमा दुर्गा भवानीको पूजा–आराधना गरिँदैछ।
नवरात्रको दोस्रो दिन माता भगवतीको दोस्रो स्वरूप ब्रह्मचारिणीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। यस दिन भक्तजनहरूले श्रद्धा, भक्ति र विश्वासका साथ माता दुर्गाको आराधना गरी सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछन्।
नवरात्रका अवसरमा देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ। दसैँको आगमनसँगै घरघरमा जमरा राखिएको स्थानमा दैनिक पूजा गर्ने, दुर्गा सप्तशती पाठ गर्ने तथा परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर धार्मिक अनुष्ठान गर्ने परम्परा छ।
नौ दिनसम्म मनाइने नवरात्रमा नवदुर्गाका नौवटा स्वरूपको विधिपूर्वक पूजा–आराधना गरिन्छ। दसैँले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिन्छ।
माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्य प्रदान गरून्। सम्पूर्ण नेपालीमा बडादसैँको हार्दिक मंगलमय शुभकामना।
