बिनाजानकारी निजी निवासमा जानु गलत – प्रहरी उपरिक्षक सन्ताेष तमाङ्ग
पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी नेता भनिएका सुदन गुरुङ आफ्नो निजी निवासमा प्रवेश गरी काम गर्ने कर्मचारी र सहयोगीलाई धम्क्याएको पूर्वमन्त्री श्रेष्ठले बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काम गर्ने कर्मचारीलाई किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाप्रति घोर भर्त्सना गर्दछु।’ उनले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरिएकाे छ ।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री श्रेष्ठको घर र ४ वटा सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । जेनजी आन्दोलनका क्रममा आगलागी भएको घरको पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झाले गुरुङको नेतृत्वमा आएको टोलीले आफूलाई धम्की दिएको दाबी गरेका छन् । इन्जिनियर झाले गुरुङले उद्धृत गर्दै भने, ‘तपाईं किसान श्रेष्ठलाई सम्झाइदिनुस् सिमराका जेनजीहरूलाई कसैले हातपात गर्यो भने घरमा मात्रै होइन, मान्छेलाई आगो लगाउन सक्छ।’साथै, उनले ‘किसान श्रेष्ठको प्लटिङमा के के गर्नुपर्छ हामीलाई थाहा छ’ भन्दै धम्की शैलीमा भनेर फर्किएको र गुरुङले धम्क्याउँदा सबैलाई क्यामेरा बन्द गर्न भनेको पनि बताएका छन् । श्रेष्ठको निवासमा लामो समयदेखि सहयोगीका रूपमा काम गर्दै आएकी मीरा श्रेष्ठले आकस्मिक रूपमा आएको अपरिचित समूहले धम्काएर गएको बताइन् । उनले ‘भदौ २४ गते घर मात्रै जल्यो, अब किसान श्रेष्ठलाई जलाउँछौँ भन्नुभयो, अब हामी पनि कति बेला के हुन्छ भनेर डरले यहाँ बस्न नसक्ने अवस्थामा छौँ,’ डर व्यक्त गरिन् ।

कानुनी वा व्यावहारिक रूपमा व्यक्तिको निजी घररसम्पत्तिको अनुगमन गर्नुपूर्व सम्बन्धित घरधनी वा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने वा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, गुरुङले बिनासूचना स्थानीय प्रशासनलाई समेत जानकारी नदिई पूर्व मन्त्रीको घर र उनको व्यावसायिक क्षेत्रको अनुगमन गरेको आरोप लागेको हो । पूर्वमन्त्री श्रेष्ठका स्वकीय विकास साह कानूले बिनाजानकारी कसैको घर र निजी सम्पत्तिमा आउनु गलत भएको बताएका छन् । उनले ‘उहाँ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जाँचबुझ आयोग, स्थानीय प्रशासन कहाँ कुन निकायबाट खटिनुभएको हो, कसरी आउनुभयो हामीलाई जानकारी छैन’ भन्दै ‘घरमा कोही नभएको बेला गुण्डागर्दी शैलीमा यसरी आउन मिल्छ ?’ भनेर प्रश्न गरे । यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जेनजी अगुवा गुरुङ बिनाजानकारी पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा जानु गलत भएको टिप्पणी गरेका छन् । उनले जेनजीहरू पूर्वमन्त्रीको घरमा जाँदैछन् भनेर स्थानीय प्रशासनलाई जानकारीनभएकाे बताए ।
