आज हरिबोधिनी एकादशी 

Spread the love

पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्हरिप्रबोधिनी एकादशीपछि जब भगवान् विष्णु जागा हुनुहुन्छ, त्यसपछि चार महिनाअघि रोपेर पूजा गरिएकी तुलसीको विधिपूर्वक दामोदर भगवानसँग विवाह गरिन्छ। एकादशी व्रतको पारण गर्ने दिन अर्थात् द्वादशी तिथिमा तुलसीको विवाह गरिन्छ। तुलसीलाई नित्यपूजापछि दामोदर भगवान् वा सत्यनारायणको पूजा गरी तुलसी र दामोदर भगवानको विशेष पूजार्चना गरेर दामोदर भगवानको हातमा तुलसीलाई अर्पण गरिन्छ। छोरीको कन्यादान गरेजस्तै तुलसीको हात कल्पना गरेर दामोदर भगवानका हातमा दिनुपर्दछ। भगवानलाई तुलसी समर्पण गर्ने मन्त्र यसप्रकार रहेको छ–
देवी कनकसम्पन्नां कनकाभरणैर्युताम्।
दास्यामि विष्णवे तुभ्यं ब्रह्मलोकजिगीषया
अर्थात् सुवर्ण आदि अलङ्कारले सुसज्जित बनाएर नाना गरगहना तथा वस्त्र, आभूषणले युक्त भएकी यस्ती तुलसीरूपी कन्यालाई दामोदर अर्थात् विष्णुरूपी हजुर वरसमक्ष समर्पण तुलसीरूपी यी कन्यालाई रोपेर, हुर्काएर, बढाएर आज यथाशक्ति अलङ्कृत गरेर दामोदररूप तपाईंलाई दिँदै छु’ भनेर भगवान् सत्यनारायणका अगाडि हातमा संकल्प लिएको जल छोड्नुपर्छ र भगवान् विष्णु प्रसन्न हुनुहोस् भन्नुपर्छ। यी मैले दिएकी तुलसीरूपी कन्या ग्रहण गर्नुहोस् भन्नुपर्दछ। तुलसीको हात सम्झिएर विष्णुमा स्पर्श गराउनुपर्छ। यो तुलसी दान गरेकाले मैले मोक्ष पाऊँ र तपाईं तुलसी मेरा चारैतिर हुनुहोस् भनी प्रार्थना गर्नुपर्दछ।
त्वं देवि मेऽग्रतो भूयास्तुलसीदेविपाश्र्वतः।
देवि त्वं पृष्ठतो भूयास्त्वद्दानान्मोक्षमाप्नुयाम्।।
यसपछि १०८ हवनआदि गरेर दक्षिणा दान गर्नुपर्छ।

नवान्नप्राशन, धात्रीपूजन तथा वनभोज

यसै हरिप्रबोधिनी द्वादशीका दिन नै नयाँ चामल भगवानलाई अर्पण गरेर न्वाँगी खाने परंपरा छ। वस्तुतः नयाँ धान, जौ आदिको उत्पत्तिपछि घरमा भित्र्याएर देवता, पितृहरूलाई अर्पण गरेर हवन गरी ‘आजदेखि प्रसादरूपमा यो अन्न ग्रहण गर्दछु’ भनी नवान्न ग्रहण गर्ने विधिलाई आग्रायण कृत्य भनिन्छ। अपभ्रंश हुँदै नयाँ अन्न ग्रहण (नवान्न) लाई न्वाँगी भन्न थालिएको हो। द्वादशीदेखि पञ्चमीसम्म तुलसीको हवन, तुलसीको विवाह र नवान्न प्राशनका लागि शुभसाइत हेर्नु नपर्ने हुँदा यी कर्महरू एकसाथ गर्ने गरिएको हो। मार्ग कृष्णपक्षको पञ्चमीपछि दिन जुराएर मात्र यी कर्महरू गर्न मिल्ने हुन्छ।

यसका साथै यस प्रबोधिनी एकादशीपछि वा एकादशीकै दिन पनि अमलाका फेदमा दामोदर भगवानको पूजा–आराधना गरेर पुरुषसूक्तले षोडशोपचार विधिले पूजा गर्ने र अर्घ्य दिनुपर्छ। अर्घ्य दिने मन्त्र–
अर्घ्यं गृहाण भगवन् सर्वकामप्रदो भव।
अक्षया संसतिर्मेऽस्तु दामोदर नमोऽस्तु ते ।।
दामोदरलाई यो मन्त्रले अर्घ्य दिएपछि क्षमापन गरेर धात्री अर्थात् अमलालाई चन्दन, कुंकुम आदिले पूजा गर्ने र फूलले पनि ‘ॐ धात्र्यै नमः…’ इत्यादि २० वटा मन्त्रले पूजा गरी सव्यले तर्पण गर्ने विधान छ।

यसपछि यो मन्त्रले अमलाको बोटमा धागो बाँध्नुपर्छ–
दामोदरनिवासायै धात्र्यै देव्यै नमोऽस्तु ते।
सूत्रेणानेन बध्नामि सर्वदेवनिवासिनीम्।।

‘ॐ धात्र्यै नमः…’ भन्ने मन्त्रले चारतिर दही–अक्षताको वलि दिएर आठवटै दिशामा बत्ती बाल्नुपर्दछ। यसपछि प्रदक्षिणा गरेर प्रार्थना गर्नुपर्दछ।

प्रार्थनामन्त्र–

धात्रीदेवी नमस्तुभ्यं सर्वपापक्षयंकरि।
पुत्रान् देहि महाप्राज्ञे यशो देहि बलञ्च मे।।
प्रज्ञां मेधां च सौभाग्यं विष्णुभक्तिं च शाश्वतीम्।
नीरोगं कुरु मां नित्यं निष्पापं कुरु सर्वदा।।

यसरी प्रार्थना गरेपछि घिउले भरिएको सुनले युक्त भएको कांस्यपात्र दान गर्नुपर्दछ। यसपछि यसै अमलाका फेदमा भोजन पकाएर खानुपर्दछ। यसलाई आजकाल वनभोज भनिन्छ।