कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी

Spread the love

सबिना प्रजा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्ने तथा संसदीय अभ्यासलाई थप सशक्त बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ।कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ। सरकारका गतिविधिमाथि मन्त्रालयगत रूपमा निगरानी राख्ने तथा प्रतिपक्षी भूमिकालाई अझ प्रभावकारी बनाउने रणनीतिअनुसार विभिन्न नेताहरूलाई छाया मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ।

कांग्रेसले छाया गृहमन्त्रीको जिम्मेवारी प्रकाश सिंह कार्कीलाई दिएको छ भने अर्थ मन्त्रालयको जिम्मेवारी नरेन्द्रकुमार केरुङलाई तोकेको छ। त्यसैगरी परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुनिलबहादुर थापालाई दिइएको छ।यस्तै, पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मोहन आचार्यलाई, शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी डा. फिर्दोष आलमलाई तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी डा. चन्द्रमोहन यादवलाई प्रदान गरिएको छ।कांग्रेसले शक्तिशाली सरकारमाथि संसदीय ढंगले खबरदारी गर्न, नीति तथा निर्णयहरूको समीक्षा गर्न र वैकल्पिक धारणा प्रस्तुत गर्न छाया सरकार अवधारणा अघि सारेको बताइएको छ।