भूमिहीन नागरिकका बस्तीमै पुगिन् मन्त्री प्रतिभा रावल लालपुर्जा वितरण प्रक्रिया तीव्र बनाउने प्रतिबद्धता
अमर कैनि
चितवन । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले चितवन क्षेत्र नं. १ अन्तर्गतका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा रहेका भूमिहीन नागरिकका बस्तीमै पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिनुभएको थियो। उहाँले नागरिकका समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे समेत स्थानीयलाई जानकारी गराउनुभयो।
भूमिहीन नागरिकले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री रावलले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने बताउनुभयो। उहाँले भूमिहीन नागरिकका समस्या यथाशीघ्र समाधान गर्न आवश्यक पहल गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

मन्त्री रावलको बस्तीस्तरमै पुगेर गरिएको भेटघाटलाई भूमिहीन नागरिकका वास्तविक समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक कदम चाल्ने प्रयासका रूपमा हेरिएको छ।
