अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्र बनाउँदै धोबी खोला क्षेत्रमा रहेका पक्की घरसमेत भत्काउन सुरु

Spread the love

काठमाडौँ महानगरपालिकाले नदी किनारका अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्र बनाउँदै धोबी खोला क्षेत्रमा रहेका पक्की घरसमेत भत्काउन सुरु गरेको छ।

महानगरपालिका–१० अन्तर्गत देवीनगर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्य शनिबारदेखि सुरु गरिएको हो। काठमाडौं महानगरपालिका का अनुसार उक्त क्षेत्रमा रहेका संरचनाहरू नदी किनार अतिक्रमण गरी बनाइएको ठहर गर्दै डोजर प्रयोग गरी भत्काउने काम अघि बढाइएको छ।महानगर प्रहरी बलका प्रमुख विष्णु जोशी ले उपत्यकाभित्रका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत यो कदम चालिएको जानकारी दिए।

यसअघि पनि बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाइएको थियो। महानगरका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका करिब दुई हजारभन्दा बढी संरचना हटाइसकिएको छ।बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा राखिएको छ। साथै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भूमिहीन परिवारहरूको लगत सङ्कलन भइरहेको महानगरले जनाएको छ।महानगरले नदी किनारलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने बताएको छ। तर यस कदमले प्रभावित सुकुम्बासी परिवारहरूको पुनर्स्थापना र व्यवस्थापनबारे बहस पनि चर्किएको छ।