ट्युमर पूर्णरूपमा निको पार्ने अमिभान्तामाब नामक यो सिरिन्जको ११ वटा देशमा क्लिनिकल परीक्षण सफल परीक्षण सम्पन्न

Spread the love

सबिना प्रजा

क्यान्सर उपचारको क्षेत्रमा चिकित्सकहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । उपचारले निको हुन नसकेका बिरामीहरूको ट्युमर पूर्णरूपमा निको पार्ने एक नयाँ इन्जेक्सनको चिकित्सकहरूले सफल परीक्षण गरेका हुन् ।जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको ‘अमिभान्तामाब’ नामक यो सिरिन्जको ११ वटा देशमा क्लिनिकल परीक्षण गरिएको थियो । नयाँ ‘ट्रिपल–एक्सन’ उपचारात्मक खोपले शरीरभर फैलिएको क्यान्सरका ट्युमरलाई समेत पूर्ण रूपमा हटाउन सक्ने सम्भावना देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार परम्परागत किमोथेरापी र इम्युनोथेरापीबाट अपेक्षित परिणाम प्राप्त नभएका तथा उपचारका विकल्प सीमित भएका बिरामीहरूमा समेत यो नयाँ उपचार विधिले उत्साहजनक नतिजा दिएको छ ।

परीक्षणमा क्यान्सर शरीरका अन्य भागमा फैलिसकेका, पुनः बल्झिएका वा उपलब्ध उपचारले प्रभाव नपारेका बिरामीहरूलाई सहभागी गराइएको थियो ।अध्ययनमा सहभागी बिरामीहरूमध्ये एक तिहाइभन्दा बढीमा ट्युमरको आकार उल्लेखनीय रूपमा घटेको पाइएको बताइएको छ ।सबैभन्दा महत्वपूर्ण उपलब्धि भने १५ जना बिरामीमा देखिएको छ, जसमा क्यान्सरका ट्युमर पूर्ण रूपमा हराएको चिकित्सकहरूले पुष्टि गरेका छन् । विशेषज्ञहरूका अनुसार यस्ता बिरामीहरूमा उपचारका विकल्प लगभग समाप्त भइसकेका थिए ।लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर)का जैविक क्यान्सर उपचार विशेषज्ञ प्राध्यापक केभिन ह्यारिङ्टनले यस्तो नतिजालाई अभूतपूर्व भन्दै उपचार विज्ञानमा नयाँ आशाको संकेत भएको बताएका छन् ।